अत्तरिया : सुदूरपश्चिम विद्यालयअन्तर्गतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस (अत्तरिया) कैलालीको काम अलपत्र पार्ने गुण निर्माण सेवालाई कालोसूचीमा राखिएको छ । गुणराज पाठक सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।
ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको छ । यस्तै सो काम अलपत्र पार्ने गुण निर्माण सेवासहित सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने ५ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखीएको छ । खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर–४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । विकास श्रेष्ठ सञ्चालक रहेको यो कम्पनीले चितवनको इच्छाकामना गाउँपालिकाको ठेक्का अलपत्र पारेको थियो । चितवनको खैरहनी नगरपालिकाको सिफारिसमा जय गढीमाई निर्माण कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखिएको छ ।
सीताराम चौधरी मुख्य सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। करण कुमार मुडभरी सञ्चालक रहेको मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रा.लि दुई वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीले रसुवागढी हाइड्रोपावर कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार काम नगरेको खरिद अनुगमन कार्यालयले जनाएको छ । त्यसैगरी,बारबर्दिया नगरपालिकाको कार्यालय बर्दियाले कल्पना कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको उक्त कम्पनीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ। खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।