अत्तरिया : डीआईजी अशोक सिंहले राजीनामा दिएका छन् । बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उनले राजीनामा बुझाएका हुन् । उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि सिंहले त्यसअघि नै राजीनामा दिएका हुन् । उनले केहीबेरअघि राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय जनाएको छ ।
राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेटेका थिए । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । कानुनी परामर्शसमेत गरेका उनलाई कानुनविदले मुद्दा मामिलामा लाग्नुभन्दा राजीनामा दिनु उचित हुने राय दिएपछि यो निर्णय लिएका हुन् । सिंहको जन्म मिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन अघि बढिसकेको छ ।
अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालयलाई सोधेको थियो । प्रहरी कितावखानामा रहेको रेकर्डमा उनको नागरिकता र शैक्षिक प्रमाण पत्रमा भएको मिति डेढवर्ष बढी फरक परेको पाइएको छ ।
जन्म मिति फरक परे पनि सिंहले जन्म मितिमा कीर्ते भने गरेका होइनन् । उनको नागरिकता २०४२ जेठ २२ गते जारी भएको थियो । नागरिकता प्रमाणपत्र जारी हुँदा उनी १८ वर्ष पूरा भएका थिए । तर नागरिकतामा वर्ष मात्रै उल्लेख भएका कारण उनको महिना र गते जारी भएको मिति नै कायम भएको हो ।
२०५० मंसिरमा उनले आवेदन दिएका थिए। आवेदन दिँदा नै उनी २६ वर्ष पूरा भइसकेका थिए । तर उनको सिट रोलमा जन्म मिति २०२५ पुस १६ गते उल्लेख छ । यो जन्म मितिअनुसार उनी २५ वर्ष पुग्न एक महिना बाँकी थियो । प्रहरी नियमावली २०७१ मा जन्म मितिको बारेमा उल्लेख छ । सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख भएकाले उनको जन्म मिति २०२४ जेठ २२ गते कायम भएको हो ।