संघमा बनेको समीकरणले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राहत

अत्तरिया : राष्ट्रपति निर्वाचनका लागि राजनीतिक दलहरूबीच सङ्घमा बनेको नयाँ समीकरणले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई राहत भएको छ। पदमा रहिरहनका लागि उनले बहुमत प्राप्त गर्न सक्ने आधार सुनिश्चित भएपछि मुख्यमन्त्री शाहलाई राहत भएको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायतका दलबीच राष्ट्रपति निर्वाचनका लागि समीकरण बनेको छ। दलहरूबीच सङ्घमा भएको सहमतिले कसैको पनि बहुमत नरहेको सुदूरपश्चिम प्रदेशमा सरकार चलाउन ठूलो सहयोग हुने
देखिएको छ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। कांग्रेसको नेतृत्वमा अहिले नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलित सरकार छ। माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका उनले एक महिनाभित्रै विश्वासको मत लिनुपर्नेछ।

सत्तारूढ दल कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न सजिलो भएको बताए । सुदूरपश्चिम प्रदेश सभामा दोस्रो ठूलो दल माओवादी केन्द्रले पनि कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने वातावरण बन्दै गएको बताएको छ। सो पार्टीबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य झपटबहादुर साउदले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएमा प्रदेश सरकारमा सहभागी पनि हुने माओवादी नेताहरूको भनाइ छ। सुदूरपश्चिमका मुख्यमन्त्री शाह मुख्यमन्त्रीमा नियुक्त भएको आधाभन्दा बढी महिना बितिसकेको छ। बहुमत नपुगेका कारण उनले विश्वासको मत पाउनका लागि दौडधुप बढाएबम थिए ।
त्यस्तै प्रदेश सभाबाट विश्वासको मत लिने तिथिमिति पनि तय गर्न सक्नुभएको थिएन। उनले विश्वासको मत प्राप्त गर्ने वातावरण बनेकाले अब छिट्टै नै विश्वासको मत लिनुहुनेछ। सम्भवतः १८ गते नै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुने प्रदेश सभा सदस्य बमले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.