चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिमका व्यवसायी चरणबद्ध आन्दोलनमा

अत्तरिया : बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा सोमबार देखि चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।
आज आईतबार कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा चरणबद्ध रुपमा विरोध गर्ने जानकारी दिएको हो । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक ब्याजदर विरुद्ध कार्यतालिका नै निर्माण गरेर चरणबद्ध रुपमा विरोध गर्ने निर्णय गरिएको थियो ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध व्यवसायी झन आक्रामक बन्दै गएका छन् । कैलाली उद्योग वाणिज्य संघ, कञ्चनपुर, टीकापुर, अत्तरिया, पुनर्वास, बेलौरी, शुक्लाफाँटा तथा गौरीगंगा उद्योग वाणिज्य संघले बैंक वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध संघर्षमा उत्रिएका हुन् । भोली देखी बिहान ११ बजे सम्म बजार बन्द गर्ने २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।
‘हामी लामो समय देखी आन्दोलनमा थियौँ सरकारले चासो दिएको छैन’ अध्यक्ष कुवरले भने, ‘अझै समस्याको समाधान नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ । ’ भोली देखि हरेक दिन विहान ११ बजेसम्मका लागि बजार बन्द गर्ने, विरोध र्याली निकाल्ने, प्रत्येक बैंक, राष्ट्र बैंकदेखि प्रशासनसम्म कोण सभा गर्ने छ । उद्योगी व्यवसायीहरुले १८ गते भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात निक्षेप जम्मा नगर्ने निर्णय समेत गरेका छन् । त्यस्तै २० गते सुदूरपश्चिमका सबै उद्योग वाणिज्य संघहरुले संघर्ष समिति गठन गर्ने र यसको जानकारी प्रदेश महासंघलाई गराउने छ ।
साथै फागुनभित्र माग पुरा नभए थप छलफल गरेर सशक्त आन्दोलन गर्ने समेत निजी क्षेत्रले चेतावनी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.