गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग्दै गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

अत्तरिया : कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको हो ।

गत माघ २९ को संघीय मन्त्रिपरिषद्ले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । गेटामा ६ सय शैयाको अस्पताल सञ्चालन गर्ने भनिएको छ । तर बजेट भाषणमा प्रतिष्ठान सञ्चालन गर्ने र एक सय शैयाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपनि कैलालीमा संर्घष सुरु भएको हो । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले स्वास्थय विश्व विद्यालय सञ्चालन हुनुपर्ने बताए ।

ज्ञापन पत्रमा भनिएको छ ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा तयार गरि सकेको कुरा यहाँलाई विदितै छ । तर, मेडिकल माफिया र भ्रष्टाचारी नियतका राजनीतिकर्मीहरुको गठजोडले यो कामलाई विफल पार्ने काम भएको छ ।’ मागहरु यथासिघ्र सम्बोधन नभएमा संघर्षका कडा कार्यक्रम अन्तर्गत अनिश्चितकालिन सुदूरपश्चिम प्रदेश बन्द गर्ने समेत ज्ञापन पत्रमा चेतावनी दिइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी कटेलले ज्ञापन पत्र गृह मन्त्रालय हुँदै प्रधानमन्त्रीसम्म जाने बताए। उनले शान्तिपूर्ण माग राख्न आग्रह गरेका छन् ।

समितिले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि शुक्रवार ज्ञापन पत्र बुझाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.