ईश्वरी-पार्वती मुड्भरी सामाजिक अभियन्ता पुरस्कार ‘आगो’ लाई

अत्तरिया : कैलाली जनपुस्तकालय धनगढीले यस वर्षको ‘ईश्वरी-पार्बती मुडभरी सामाजिक अभियन्ता राष्ट्रिय पुरस्कार गोदावरी अत्तरिया निवासी युवा समाजसेवी लोकराज पाण्डेय आगोलाई प्रदान गर्ने निर्णय गरेको छ।

कैलाली जनपुस्थकालय धनगढीले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा उक्त पुरस्कार आगोलाई दिने निर्णय गरेको कैलाली जनपुस्तकालय धनगढीका अध्यक्ष संस्कृतिविद् डा.टीएन जोशीले बताए। सुदूरपश्चिममा रही सामाजिक अभियन्ताको रूपमा विशिष्ट योगदान पुर्याए बाफत पाण्डेयलाई सो पुरस्कार प्रदान गरिन लागेको हो। लोकतान्त्रिक आन्दोलनमा पटक पटक जेल परेका लोकराज पाण्डेय आगो सुदूरपश्चिममा हुने जनमुखी हरेक आन्दोलनमा अग्र मोर्चामा नेतृत्व गर्ने व्यक्ति हुन्।

अखण्ड सुदूरपश्चिमको आन्दोलनमा नेतृत्व लिएका आगो पछिल्लो पटक गेटा मेडिकल विश्वविद्यालयको आन्दोलनको समेत नेतृत्व गरिरहेका छन्। सामाजिक सेवामै समर्पित रहदा रहदै आगो पछिल्लो समय गम्भीर स्वास्थ्य समस्या झेलिरहेका छन्। २०६३ मा जनचेतनामूलक अभियानमा साइकल यात्रा मार्फत् देशका ६३ जिल्लाको भ्रमण गरेर चर्चामा आएका आगो हज्जारौ दिवंगत व्यक्तिको शबयात्रामा सहभागी भएर चिता निर्माण गर्ने व्यक्तिको रूपमा समेत चर्चित छन्। आगोलाई यही असार २९ गते भानु जयन्तीका अवसरमा धनगढीमा आयोजना हुने विशेष समारोहमा सम्मानित गरिने पुस्तकालयले जनाएको छ। समाजसेवी तथा सुदूरपश्चिम विश्वविद्यालयका प्राथ्यापक जनकराज जोशीले आफ्ना दिवंगत पिताको स्मृतिमा कैलाली जनपुस्तकालयमा अक्षयकोष राखी पुरस्कारको स्थापना गरेका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.