कैलारी गाउँपालिका–३, मोहनपुरमा वृक्षारोपण

धनगढी, १४ असार : कैलालीको कैलारी गाउँपालिका–३, मोहनपुरमा रहेको सुन्धारा महिला सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिवशको अवसरमा बिहीबार उक्त सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिब दुई सय विरुवा रोपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले वृक्षारोपण कार्यको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री धामीले वृक्षारोपणबाट सामुदायिक वन संरक्षणमा टेवा पुग्ने बताए । वन र वातावरण संरक्षणका लागि मन्त्रालयले मातहतका कार्यालयहरु मार्फत् यस वर्ष वृक्षारोपण कार्यक्रम सुरु गरेको उनले जानकारी दिए । दुधुवा नेशनल पार्कसँग जोडिएकाले जैविक कोरिडोरका लागि सुन्धारा महिला सामुदायिक वन महत्वपूर्ण रहेकोले यसको संरक्षणमा ध्यान दिन मन्त्री धामीले आग्रह गरे । प्रदेश सरकारले कुनै पनि वहानामा जंगल मास्न नदिने बताए । ‘जंगली जनावरबाट हुने क्षति रोक्दै वन संरक्षण गर्नुपर्छ ।

सुन्धारा सामुदायिक वन अन्तर्गत मोहना नदी छेउमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले वृक्षारोपणले वन संरक्षणसँगै नदीले कटानी र पटानी गरेको जमिन उकास हुने विश्वास व्यक्त गरे । नदी उकास क्षेत्रमा वृक्षारोपण गरेर वन र जमिन संरक्षण गर्न खोजेको उनले बताए । ‘विरुवा रोप्ने तर हुर्काउनमा ध्यान दिने आरोप वन कार्यालयलाई लाग्दै आएको छ । हामीले यहाँ पहिले तारवार गरेर वृक्षारोपण गर्दैछौँ ।’ पराजुलीले भने, ‘यसले नदीले कटान गरेको जमिन उकाससँगै वातावरण संरक्षणमा पनि टेवा पुग्नेछ ।’ भारतको दुधुवा नेशनल पार्क र बसन्ता जैविक मार्गसँग जोडिएको सुन्धारा सामुदायिक वन महत्वपूर्ण रहेको उनले बताए ।
उक्त सामुदायिक वनका अध्यक्ष सीता चौधरीले गत वर्ष पनि वृक्षारोपण गरिए पनि विरुवा जोगाउन नसकिएको बताइन् । तारवार गरिएकाले यस वर्ष विरुवा जोडिने उनले विश्वास व्यक्त गरिन् । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री गीतादेवी माल, संविधान सभा सदस्य बीरमान चौधरी, मन्त्रालयका सचिव बेदकुमार ढकाल, कैलारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाजुराम चौधरी, मन्त्रालय र वनका कर्मचारीलगायतको सहभागिता रहेको थियो । सव वन डिभिजन कार्यालय बसन्ताको आयोजनामा वृक्षारोपण कार्यक्रम भएको हो ।
वृक्षारोपण कार्यक्रममा सहभागी हुन कैलाली गाउँपालिका पुगेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री धामीले जनयुद्धका क्रममा सहादत प्राप्त एक सहीदका परिवारलाई हसुलियामा भेटेका छन् । तत्कालीन जनयुद्धमा लागेर सहादत प्राप्त गरेका हिराराज चौधरीका परिवारलाई मन्त्री धामी र राज्यमन्त्री मालले भेटेका हुन् । हिराराजका बुवा सीताराम चौधरीलाई हसुलियामा रहेको उनको घरमा गइ भेट गरेका मन्त्री धामीले परिवारका सदस्यको उपचार र अन्य कुरामा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.