अत्तरिया : बैतडीको एक क्याम्पसमा टिकटक प्रतियोगिता गरिने भएको छ । डिलाशैनी गाउँपालिका –६ गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । क्याम्पसको १३ औं बार्षिकोत्सवको अवसरमा टिकटिक प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख राजेन्द्र जोशीले जानकारी दिए ।
प्रतियोगितामा भाग लिन चाहनेहरुले क्याम्पसको बिशेषता झल्किने किसिमको बढीमा ३ मिनेटको टिकटक भिडियो क्याम्पसको इमेलमा पठाउनुपर्नेछ । सो भिडियो भदौ १ गते बिहान ७ बजेपछि आफ्नो टिकटक आइडीमा सार्वजनिक गर्नुपर्नेछ । टिकटक प्रतियोगितामा सहभागी भएकाहरुमध्ये सर्वोत्कृष्ट सहभागीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रमुख जोशीले बताए ।
टिकटक भिडियोमा भदौ २ गते बिहान ७ बजे सम्म प्राप्त भ्यु, लाइक र शेयरको आधारमा २० प्रतिशत अंकभार राखिएको छ भने बिषयवस्तुको गहनता र प्रस्तुतीकरणमा ८० प्रतिशत अंक भार राखिएको छ । सोही मूल्याकंनका आधारमा सर्वोत्कृष्ट सहभागी छानिने क्याम्पस प्रमुख जोशीले बताए ।