धनगढी : सुदूरपश्चिममा गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको र डेउडा प्रतिस्ठानको संयुक्त आयोजनामा यहि भदौ १४ गते बिहिबार देखि हुने भएको हो । प्रतियोगिता धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा सञ्चालन हुने डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए । सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।
डेउडा प्रतिष्ठानका महासचिव तोया प्रसाद भट्टका अनुसार , ‘भाषा, साहित्य,कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो।’ भन्ने मुल नाराका साथ गौरा महोत्सव हुने भएको हो । २०७३ साल देखि निरन्तर गर्दै आएको प्रतियोगिता यस पटक हुने लागको ८ औं हो ।
डेउडा प्रतियोगितामा प्रथम हुनेलाई नगद २१ हजार,द्वितीयलाई नगद १५ हजार, तृतीयलाई नगद ९ हजार र सान्त्वनालाई नगद ५ हजारका साथै प्रमाणपत्र प्रदान गरिने छन्। हरेक दिन एक जना उत्कृष्ट डेउडियालाई नगद पुरस्कार पनि प्रदान गरिने प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि. एन. जोशी बताएका छन्। गौराको अवसरमा प्रतियोगिता हुन लागेको हो । कैलाली सहितका केहि जिल्लामा भदौ ७ गते गौरा मनाए पनि पहाडका केहि जिल्लामा आउने २१ गते मनाउने तयारी रहेको छ । अहिले पनि विभिन्न ठाउँमा डेउडा खेल्ने क्रम जारी रहेको छ ।