मुगु : मुगुमा एकै परिवारको चार जनाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहरको हत्या आरोपमा नातेदार दुई जना पक्राउ परेका छन् ।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुन्दुका ३१ वर्षीय गोपालबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । गोपाल श्रीदेवीका मामाका छोरा हुन् ।
श्रीदेवीका श्रीमान् दीपक रोजगारका लागि कतारमा थिए । गोपाल पनि कतारमा दुई वर्ष बसेर राम्रो कमाइ नभएको भन्दै फर्किएका थिए । दीपक भने गत मंसिरमा कतार गएका थिए । गोपालले दीपकलाई भिसा पठाइदिन आग्रह गरेका थिए । दीपकले उक्त कुरा अस्वीकार गरेपछि गोपाल रिसाएको अनुसन्धानबाट देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भीमप्रसाद ढकालले बताए । त्यही रिसिइबीका कारण परिवारकै हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । साथै उनीहरूले उक्त घरमा लुटपाट गर्ने योजना पनि बनाएका थिए ।
राम्रो कमाइ गरिरहेका दीपकको घरमा नगद र सुन हुन सक्ने अनुमानमा हत्या गर्न गोपालले बाँकेबाट गोर्खराज शाहीलाई पनि बोलाएका थिए । हत्या गर्ने योजना उनीहरूले जेठमै गरेका थिए । त्यसबेला नै श्रीदेवीसँग १०÷१२ तोला हुनसक्ने भएकोले लुट्ने सोचेका थिए ।
तर त्यतिबेला श्रीदेवी गर्भवती रहेको हुँदा हत्या नगरी फर्किएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । फेरि उनीहरूले असोजमा भेटेर कात्तिकमा हत्या गर्ने भनेर योजना बनाएका थिए ।
योजनाअनुसार गोर्खबहादुर सुर्खेतबाट कात्तिक ५ गते मुगुका लागि हिँडेका थिए । भोलिपल्ट पुगेका उनले गोपाललाई भेटेर उनको घरको भुइँ तलामा रहेको खरायोको खोरमा बसेका थिए । त्यसपछि कात्तिक ७ गते दिनभर मुन्दुस्थित एक सामुदायिक विद्यालयनजिकै खोलामा लुकेर पुनः गोठमै आएर बास बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
दसैंको टीका लगाएर कात्तिक ८ गते साँझ श्रीदेवी माइतीबाट फर्किएकी थिइन् । त्यही बेला उनीहरू घरभित्र प्रवेश गरेर चारै जनाको हत्या गरेको डिआइजी ढकालले बताए । हत्यापछि उनीहरूले श्रीदेवीको फोन, साढे २ तोला सुनको रिङ र २५ लालको घाँटीमा रहेको तिलहरी लुटेर भागेका थिए । घटनापछि गोर्खबहादुर मुगु र जुम्लाको सिमाना भुलभुलेसम्म हिँडेर पुगे भने त्यहाँबाट सुर्खेत जाने बस चढेर कात्तिक ९ गते सुर्खेत पुगेका थिए । त्यसपछि उनले श्रीदेवीको फोनको सिम निकालेर आफ्नो सिम राखे ।
दुई साताको अनुसन्धानपछि प्रहरीले कात्तिक २३ गते नेपालगन्जबाट गोर्खबहादुरलाई पक्राउ गरेको हो । उनीबाट एक लाख ७९ रुपैयाँ, नेपाली राहादानी बरामद भएको छ । उक्त रकम उनले सुन बेचेर लिएका थिए । उनले घटनास्थलमा गलबन्दी छाडेका थिए । उनले गलबन्दी आफ्नो भएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत मुगुबाट ११ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । यो घटना कात्तिक ८ गते राति नै भए पनि कात्तिक १० गते मात्रै बाहिरिएको थियो । यसको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापा, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको छुट्टाछुट्टै टोली खटिएको थियो ।
अनुसन्धानको जटिलता देखेर कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी ढकाल आफैं मुगु पुगेका थिए । पछि केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीलाई घटनास्थलमा खटिएको थियो ।
सम्बन्धित पाेस्टहरु