बैतडी सदरमुकाममा खानेपानी समस्या

बैतडी : बैतडी जिल्ला सदरमुकाममा एक पटक पानी भर्न चार दिन कुर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । साना सहरी खानेपानीको पाइपमा चुना ९क्याल्सियम० जमेर आपूर्ति नभएका कारण यस्तो समस्या आएको बताइएको छ ।

सदरमुकाममा विगत चार, पाँच दिनदेखि खानेपानी वितरण नियमित हुन सकेको छैन । आठ वर्षअघि १४ करोड रुपियाँको लागतमा निर्माण भएको खानेपानी योजनाका पाइपमा क्याल्सियम जमेर बन्द भएका छन् । सो समस्यासँगै दशरथचन्द नगरपालिका–४, सदरमुकाममा खानेपानीको सङ्कट चुलिएको छ । यहाँ एक हजार ६० वटा धारा छन् । दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्छ । छ इन्च पाइपभित्र क्याल्सियम जम्दा पानी आपूर्तिमा समस्या भएको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिए।

सदरमुकाममा दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्नेमा हाल तीन लाख लिटर आपूर्ति हुन थालेको छ । उपभोक्तालाई चार दिनमा एक छाक पानी दिने गरेको उहाँले बताउनुभयो । चार दिनमा एक छाक पानी आउन थालेपछि सदुमकाम क्षेत्रमा डेरा गरी बस्ने विद्यार्थी र होटल सञ्चालकलाई समस्यामा परेको स्थानीय श्याम खत्रीले बताए । पानीका कारण होटल बन्द गर्नुपर्ने अवस्था आएको छ । सात किलोमिटर टाढा रहेको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट आपूर्ति हुने पानीको पाइप फेर्न सके मात्र दैनिक रूपमा पानी वितरण गर्न सकिने जनाइएको छ । ग्वाल्लेकको पानीमा क्याल्सियमको मात्रा बढी भएका कारण सात, आठ वर्षमै पाइपको व्यास घटेर चार इन्च बनेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख गोविन्द देवकोटाले बताए।

पाइप फेरेर मुहानमै चुना फिल्टर गर्ने मेसिन जडान गरेर पानी ल्याउन सके दीर्घकालीन रूपमा समस्या समाधान हुने अपेक्षा गरिएको छ । साना सहरी खानेपानीको पाइप फेर्न आठदेखि १० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । साना सहरी खानेपानी बन्द हुने अवस्था आएपछि तत्कालका लागि स्थानीय सुतिगाढ खोलाबाट पानी ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो । सङ्घीय सरकारको अनुदानमा बनेको साना सहरी खानेपानी योजनाको पाइप समयमै फेर्न नसके थप समस्या आउने उपभोक्ता समितिका अध्यक्ष धर्मानन्द पाण्डेयले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.