अत्तरिया, २६ पुस : धनगढीमा भुवा महोत्सव सुरु भएको छ । महोत्सवको बिहिबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका हुन् । धनगढी रङगशालामा भएको महोत्सवमा बाजुरा र बझाङ घर भई हाल धनगढीमा बसोबास गरेकाहरुले आफ्नो भुवा चाली प्रस्तुत गरेका थिए । सुदूरपश्चिम खेलकुद परिषद् धनगढीको मुख्य प्रवद्र्धक रहेको महोत्सवमा कैलाली र कञ्चनपुरका भुवा खेल खेल्न ६ टिमको सहभागिता रहेको छ ।
बाजुरेली समाजले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाही, सांसद पदम शाही, सन्तोष शर्मा थापा, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले आफ्नो धारणा व्यक्त गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारले बिहिबार प्रदेशभरि सार्वजनिक बिदा दिएको थियो । पहाडी जिल्लाबाट तराई झरेका, बाजुरेली, बझाङ्गीहरूले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन् । सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ । समाजका अध्यक्ष वजिरसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति राखेका हुन् ।
दशैं तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा मनाइने भुवा पर्व बिहिबारदेखि विधिवत् रुपमा सुरु भएको हो । महाभारतको युद्धका पाण्डव र कौरव बीचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरेको जन विश्वास छ । भुवा पर्व पुषे औँसीका दिनबाट सुरु भई तीनदेखि पाँच दिनसम्म मनाइने गरिन्छ ।
आफन्तसँगको भेटघाट, आपसी सद्भाव,रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ ।
भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने,लाखे नाच नांच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ । सत्यको जितसँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले भुवा पर्व मनाउने गरिएको भुवा पर्वका जानकाररुले बताउने गरेका छन् ।
