मार्तडीमा चामलका लुछाचुडी, एकैदिनमा सकियो तीन सय क्विन्टल

अत्तरिया : सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य तथा व्यापार कम्पनीको गोदाममा आइतबार दिनभर चामल किन्न आएका सर्वसाधारणबीच तछाडमछाड चल्यो । चामल किन्न हारालुछ भएपछि भीड नियन्त्रण गर्न प्रहरी परिचालन गर्नुपरेको थियो ।
लामो समयपछि मार्तडीमा सीमित परिमाणमा मोटा चामल बिक्री वितरण गरेको कम्पनीले माग धान्न नसकेपछि प्रतिव्यक्ति बढीमा २५ किलो मात्र किन्न पाउने व्यवस्था गरेको थियो ।

‘भीड नियन्त्रण गर्नै नसकिने अवस्था भए पछि प्रहरी परिचालन गर्नुपर्ने अवस्था आयो,’ कम्पनीका बाजुरा शाखा प्रमुख उमेश भण्डारीले भने, ‘सुरक्षाकर्मी परिचालन भएपछि अलि सहज भयो ।’ मार्तडीस्थत गोदाममा रहेको तीन सय क्विन्टल मोटा चामल एकै दिनमा सकिएको शाखा प्रमुख भण्डारीले बताए । ‘दिनभर अत्यधिक घुँइचो लाग्यो । मौज्दातनै त्यत्ति थियो, सबै एकै दिनमा सकियो,’ उनले भने, ‘थोरै परिमाणमा भए पनि कसैले रित्तै फर्किनु नपरोस् भनेर हरेकको व्यक्तिगत विवरण राख्दै प्रतिव्यक्ति २५ किलोसम्म दियौं । झण्डै एक हजार जतिलाई मात्र पुग्यो ।’

अब यहाँ चामल मौज्दात नभएको उनले बताए । मार्तडीमा गत भदौ २४ गतेदेखि, र कोल्टीमा असोज ८ गतेदेखि गोदाम रित्तिएको थियो । खाद्य अभाव भइरहने बाजुरामा मोटा चामलको अत्यधिक माग हुन्छ । बारम्बार माग गर्दा पनि दसैंतिहार जस्ता चाडबाडमा समेत मार्तडीमा चामल नआएको स्थानीय बताउँछन् । कम्पनीले मोटा चामल प्रतिकिलो ५९ रुपैयाँ मूल्य निर्धारण गरेको छ । सोही गुणस्तरको चामल बजारमा किन्दा करिब ७० रुपैयाँ पर्ने स्थानीय बताउँछन् । झण्डै सात महिनापछि चामल वितरण गरेपछि मार्तडीका स्थानीय तथा सदरमुकाममा अध्ययनरत विद्यार्थीकै चामल किन्नका लागि भीड लागेको थियो । अत्यधिक घुँइचोका कारण कतिपयले चामल किन्न नपाएर रित्तै फर्किनु परेको मार्तडीकी सुमिता थापाले बताइन् ।

अर्कोतिर आइतबार कम्पनीले पूर्व जानकारीनै नदिइ बिक्री गरेकाले मार्तडी बाहिरका बासिन्दाले चामल किन्न नपाएको गुनासो गरेका छन् । सदरमुकाम मार्तडी, कोल्टी, कवाडी र मुक्तिकोटका गोदाममा स्थानीयले उपभोग गर्दै आएको चामल छैन । यहाका बासिन्दा खाद्यको मोटा चामलमै निर्भर छन् ।

अत्यधिक माग भए पनि साउनयता कोल्टी डिपोमा एक सय, कवाडीमा दुई सय र मार्तडीमा ५ सय ७० क्विन्टलमात्र मोटा चामल आएको शाखा प्रमुख भण्डारीले बताए । ‘दुई साताअघि एक सय क्विन्टल आएको थियो । त्यो त एक दिनमा बिक्री गर्न पनि पुगेन,’ भण्डारीले भने ।

चालु आर्थिक वर्षका लागि १० हजार क्विन्टल माग गरिए पनि चामल आउने टुंगो नभएको उनको भनाई छ । हाल मार्तडीस्थित गोदाममा प्रतिकिलो ९२ रुपैयाँ पर्ने जिरा मसिनो चामल एक सय ३० क्विन्टल मौज्दात छ । तर कर्मचारीहरुका अनुसार उक्त चामल सर्वसाधारणले किन्न नसक्ने भएकाले बिक्री नै नहुने अवस्था रहेको छ । अर्कोतिर अनुदानकै चामलको मूल्य पनि वर्षेनी बृद्धि भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.