कैलालीमा प्रहरीमाथि नै तस्करको निगरानी : जासुसी गर्ने बुद्दीराम र पदम पक्राउ

अत्तरिया : कैलालीमा प्रहरीमाथि नै तस्करको समूहहरुले निगरानी राख्ने गरेको पाइएको छ। कैलालीका विभिन्न सीमानाकाबाट तस्करी गर्नेहरुले प्रहरीमाथि निगरानी राख्ने गरेको पाइएको हो। शनिबारमात्रै एक जना प्रहरीमाथि निगरानी राख्ने तस्करका खुफिया पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका–७ मनेहरा बस्ने बुद्दीराम चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। उनले विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा अवैध रुपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मुलका विभिन्न मानिसहरुको समूहलाई सूचना गरेको खुलेको हो।

यस्तै उनले सूचना दिएबाफत प्रति सूचना रु.५०० का दरले लिने गरेको बताइएको छ। यस्तै प्रहरीले आज आइतबार धनगढी-९ ताराताल घर भएका ३२ वर्षीय पदम पार्कीलाई पक्राउ गरेको छ । धनगढी-८ को भगतचोकमा कपाल काट्ने काम गर्दै आएका पार्कीले दिउँसो कपाल काट्ने तथा रातिको समयमा तस्करहरूलाई प्रहरीबारे सूचना दिने गरेका थिए। बिगत ७\८ वर्षदेखि प्रहरीबारे तस्कर समूहहरूलाई सूचना दिने गरेको पार्कीले प्रहरीलाई बयान दिएका छन्।

पार्कीले बङग्राकटानदेखि भगतचोकसम्मको सूचना तस्कर समूहलाई दिने गरेको कैलाली प्रहरी प्रवक्ता कविन्द्रबहादुर बोहराले बताए। उनले प्रति सूचना तस्कर समूहबाट ५ सय रकम लिने गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले उनीहरुलाई नियन्त्रणमा लिएर राष्ट्र सेवकलाई कामकाजमा बाधा अवरोध गरेको कसूरमा थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.