अत्तरिया : नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिएका आफ्नो दुई जना प्रदेश सभा सदस्यलाई कारबाही गर्ने जनाएको छ ।
सो पार्टीले कैलाश चौधरी र टीका थापालाई कारबाही गर्ने जनाएको हो । मन्त्रीसमेत रहेका दुवै जनाले आफ्नो पार्टीको दलको निर्णय विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको जनाएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत नदिनका लागि उन्मुक्तिले ह्विप जारी गरेको थियो ।
दलको ह्विपलाई अटेर गरेर विश्वासका मत दिएका दुवै जनालाई कारबाही गरिने मुख्य सचेतक खुशीराम डङ्गौरा थारुले बताए । उनले भने, ‘हाम्रो पार्टी फुटेको होइन । र, पार्टीभित्र हामी दण्डहीनताको परिस्थिति पनि आउन दिँदैनौँ । मुख्यमन्त्रीलाई विश्वासको मत दिनु भएका दुवै माननीयलाई कारबाही हुन्छ ।’
मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सो पार्टी प्रदेश सभामा भने विभाजित भएको देखिएको थियो । विश्वासका मत दिएका दुवै जना प्रदेश सभा सदस्य सत्तापक्षको बेन्चमा र सरकारको विपक्षमा रहेका पाँच जना प्रदेश सभा सदस्य प्रतिपक्षको बेन्चमा बसेका थिए । उनीहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दुवै सदस्य नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर रहेको बताइन्छ । सरकारको विरोधमा रहेका पाँच जना सदस्य भने संरक्षक रेशमलाल चौधरी पक्षधर रहेको बताइएको छ । सरकारको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष र संरक्षकबिच चर्को विवाद देखिएको छ ।
यसैबिच, नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले दलको नेता आफू हुँदाहुँदै अवैधानिक तरिकाले कैलाश चौधरीलाई दलको नेता बनाएर मुख्यमन्त्री नियुक्तिमा समर्थन गर्ने कार्य भएकाले सरकार नै असंवैधानिक रहेको जिकिर गरे । मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुख र प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई निलम्बन गर्ने सवालमा सभामुखको भूमिका असंवैधानिक रहेको उनको भनाइ थियो ।
सम्बन्धित पाेस्टहरु