राजमार्गमा काफल बेच्न तँछाडमछाड

डडेल्धुरा : सुदूरपश्चिमको पहाडी जिल्लालाई तराई जोड्ने सडकमार्गमा काफल बेच्न महिलाले तँछाडमछाड गर्ने गरेका छन् । यति बेला जङ्गलमा प्रशस्त काफल पाइने भएकाले बेचेर स्थानीय महिलाले राम्रो आम्दानी गर्दै आएका छन् ।

डडेल्धुरा राजमार्ग छेउछाउमा कापल बिक्री गर्ने महिला बिहानैदेखि साँझपखसम्म बसेको देख्न सकिन्छ । एउटा चिया गिलासमा काफल भरेर २५ रुपियाँसम्ममा बिक्री गर्दै आएका महिला बस गाडी रोकिनेबित्तिकै तँछाडमछाड तथा भागदौड गर्ने गरेको देखिन्छ । सडक छेउ छेउमा प्रायः महिलाले एक किलोग्रामको दुई सय रुपियाँसम्ममा काफल बेच्दै आएको बताएका छन् । किलोका हिसाबले तौल नगरे पनि अनुमानका आधारमा छाप्रो, परादलगायत भाँडामा काफल राखेर ८० रुपियाँदेखि एक सय रुपियाँसम्ममा बिक्री गरेका स्थानीय हरुदेवी साउदले बताइन ।

बिहानै काफल टिपेर दिउँसोतिर सडक छेउछाउमा बसेर बिक्री गर्छन् । रोटी राख्ने निगालोबाट बनेको एक छाप्रो पूरैको काफल आठ सय रुपियाँसम्ममा बिक्री गर्ने गरेको उनले बताइन । काफल बेचेर दुई तीन महिनाको घरखर्च टर्ने गरेको स्थानीय महिला बताउँछन् ।

काफल टिपेर बेच्न सक्ने महिलाले एक दिनमा चार हजार रुपियाँसम्म कमाउने गरेका छन् । स्थानीय पार्वती भण्डारीले जसको घरमा धेरै जना काफल टिप्ने मान्छे छन् अनि जसले गाडीमा भागदौड गरी अगाडि काफल पु¥याउन सक्यो उसले एक दिनमा चार हजार रुपियाँसम्म कमाउने गरेको बताउन्छन् ।

डडेल्धुरा जिल्ला सदरमुकामको स्याउले बजारमा काफल बेच्न महिला गाडी रोकिँदा भागदौड गरेको देख्न सकिन्छ । अमरगढी नगरपालिका–१, स्याउले बजारनजिक ट्राफिक प्रहरी पोस्ट रहेको छ । गाडी इन्ट्री गर्न ट्राफिक प्रहरी पोस्टनजिक गाडी रोक्नुपर्ने हुन्छ । गाडी रोकिँदा काफल बेच्न महिला तँछाडमछाड गर्दै भागदौड गर्ने गरेको वडाध्यक्ष लोकबहादुर ऐरले बताइन ।
स्थानीय उत्पादन आरुबखडा, पुलम, सुन्तला, मौसमी, ओखर, मुलालगायत राजमार्गमा गुड्ने गाडीका यात्रुलाई बेच्ने गरेको उनको भनाइ छ । ट्राफिक प्रहरी पोस्ट स्याउलेका ट्राफिक हवलदार गणेश सेठीले भने, “गाडीचालकले छेउमा गाडी रोक्छौँ अनि बिक्री गर्नुहोला भन्दा पनि तँछाडमछाड रोक्न सकिँदैन ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.