अत्तरिया : कैलाली भन्सार कार्यालयले लक्ष्यको ६७ दशमलव ८१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०\८१ को १० महिनाको निर्धारित लक्ष्यभन्दा ३२ दशमलव १९ प्रतिशत कम राजस्व सङ्कलन गरेको हो ।
कार्यालयको चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ९ अर्ब ५६ करोड ५४ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ६ अर्ब ४८ करोड ६० लाखमात्रै राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।
उनका अनुसार साउनमा ४६ करोड ८२ लाख,भदौमा ५१ करोड ९३ लाख,असोजमा ६३ करोड १४ लाख,कार्तिकमा ६१ करोड ४६ लाख र मंसिरमा ७३ करोड ३४ लाख राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा ६८ करोड ९० लाख,माघमा ६६ करोड ६७ लाख,फागुनमा ६९ करोड एक लाख, चैतमा ७२ करोड १३ लाख र वैशाखमा ७५ करोड १७ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
कुनै पनि महिना कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन् । भन्सार कार्यालयको चालु आर्थिक वर्ष २०८०\८१ मा ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेको छ । कार्यालयको गत आर्थिक वर्ष २०७९\८० मा १२ अर्ब ३० करोड ६६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकोमा ८ अर्ब २९ करोड ६३ लाख मात्रै राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । गत वर्ष राजस्व संकलन लक्ष्यमा पुग्न सकेको थिएन् ।