अत्तरिया : जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा प्रदर्शन गरिएको छ । जनचेतनामुलक र्याली सहित प्रदर्शन गरेको हो ।दलित विकास सेवा केन्द्र कैलाली,दलित महिला अधिकार मञ्च नेपाल, फेडो लगायतको आयोजना तथा नेपाल दलित संघ उत्पीडित जातीय समाज,नेपाल दलित मुत्ति मोर्चा र नेपाल दलित मुत्ति संगठनको सहकार्यमा प्रदर्शन गरिएको हो ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। यसैको सम्झनामा २०६८ सालदेखि ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाउन थालिएको हो ।
नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । संविधानको यो मर्मलाई आत्मसात गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ। तर समाजमा जातीय भेदभाव तथा छुवाछूत अझै अन्त्य भएको छैन ।