बैतडीकी शिक्षिकाको बयान : पैसा माग्दा झगडा भयो, चिरपटले हिर्काउँदा ज्यान गयो

बैतडी : बैतडीमा एक पुरुषको हत्या आरोपमा परेकी परेकी शिक्षिकाले व्यक्तिगत लेनदेनको विषयमा झगडा हुँदा ज्यान गएको बयान दिएकी छन् । पाटन नगरपािलका–६ का ५१ वर्षीय विरभान सिंह बिष्टको हत्या आरोपमा पक्राउ परेकी ३६ वर्षीया भागरथी विष्टले प्रहरीसँगको प्रारम्भीक अनुसन्धानमा यस्तो बयान दिएकी हुन् । भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत रहेकी छन् । उनी एकल महिला समेत रहेको खुलेको छ ।

उनले आफ्नै घरमा आएको बेला असार १ गते राति चिर्पट लागेर विरभानको ज्यान गएको बताएकी छन् । विरभानको हत्यापछि २४ घण्टासम्म शव घरमै राखेको र गएराति मात्रै अरुमार्फत व्यवस्थापन गर्न लगाएको उनले बताएकी छन् ।

विष्टको शव पाटन–पञ्चेश्वर सडकको घानल खोलामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । अनुसन्धानमा संलग्न एक अधिकारीले भागरथीको भनाई उदृत गर्दै भने,‘हामी चिनजानकै हौं । १ गते राति १२ बजे उहाँ मेरो घरमा आउनु भयो । मैले उहाँलाई ७\८ लाख रुपैयाँ दिएकी थिए । त्यो पैसा माग्दा विवाद भयो । सोही क्रममा मैले चिर्पटले हिर्काए । रगत बगेर ज्यानै गयो । त्यसपछि अटोमा हाल्न लगाएर हिजो शव बाहिर फाल्न लगाएकी हुँ ।’ मृतक विष्ट ट्रक ड्राइभर रहेको खुलेको छ ।

विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा थिएनन् । सोमबार स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.