अछाम : अछामको ढकारी गाउँपालिका-८ पलसाटाका १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का विद्यालयदेखि मेलापातसम्म सँगसँगै हुन्थे।
शुक्रबार (माघ ११ गते) दुवै जना विद्यालय गएनन्। विद्यालयमा खेलकुद चलिरहेकाले नियमित पठनपाठन थिएन। खेलकुदमा भाग नलिएका उनीहरू घरमै थिए। ईश्वरी र सरस्वती कमलबजार नगरपालिका-१० को विद्या प्रबोधनी माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थे।
विद्यालय नगएका बेला उनीहरू घरका सदस्यलाई मेलापात, गोठालो गएर सघाउँथे। घरबाट केही तल रिमा भन्न ठाउँमा गोठ छ। ईश्वरी र सरस्वती खाना खाएर शुक्रबार बिहान त्यहीँबाट बाख्रा चराउन निस्किएका थिए। सोडसा सामुदायिक वनको छिन्ने भीरतिर चराउन लगिएका बाख्रा बेलुका आफैँ गोठमा फर्के। तर गोठाला गएका ईश्वरी र सरस्वती फर्केनन्।
‘गोठालाबिनै फर्केका बाख्राले छिमेकीको बालीनाली खाए। साथमा कोही नदेखेपछि छिमेकीले बाख्रालाई बाटोतिरै भगाएका थिए,’ मृतकका आफन्त देवेन्द्र बहादुर खड्का भन्छन्, ‘बेलुकासम्म पनि नातिनी (ईश्वरी) र भतिजी (सरस्वती) फर्केनन्।’ उनका अनुसार परिवारले उनीहरूले बोक्ने मोबाइलमा सम्पर्क गरे। एउटाको मोबाइलमा घण्टी लाग्यो। तर उठेन। अर्को मोबाइल भने स्विचअफ थियो।
यसपछि गाउँमा दुवै बिहे गरेर भागेको हल्ला फैलियो। शनिबार परिवारका सदस्य उनीहरूको खोजीमा वरपरका गाउँ गए। कोही प्रहरीमा उजुरी दिने तयारीमा लागे। यसैबीच शनिबार दिउँसो माछा मार्न गएका स्थानीयले ढकारी गाउँपालिका-१ छिन्ने भीरमा शव देखे। गाउँले पुगेर हेर्दा त्यो शव ईश्वरीको थियो। दाइ कृष्णले बहिनी ईश्वरीलाई चिने। अलि माथि सरस्वतीको पनि शव भेटियो।
मृतकका आफन्त देवेन्द्र खड्काका अनुसार नजिकै ढुंगा पनि रगतले लतपतिएको थियो। ‘दुवैको शव एउटै प्रकृतिको छ। शव हेर्दा हत्या गरेर फालेको जस्तो देखिन्छ। अनुहार क्षतविक्षत भएर हेर्नै नसकिने छ,’ उनले भने, ‘बीभत्स घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’
ईश्वरी र सरस्वतीको बाटो कुरेर बसेका आमा कला र तारा भावविह्लल छन्। उनीहरूका छोरीहरू कहिल्यै नआउने गरी जंगलमा बिलाए। ईश्वरी र सरस्वती नातामा फुपू-भदैनी पर्छन्। ईश्वरीका बाजे अबी र सरस्वतीका बुवा उदय दाजुभाइ हुन्। ईश्वरीका बुवा कमल र सरस्वतीका बुवा उदय भारतमा काम गर्छन्। एकै परिवारका दुई किशोरीको रहस्यमय मृत्युले परिवार विक्षिप्त छ। गाउँ नै शोकमा डुबेको छ। पीडित परिवारले ढकारी गाउँपालिका १ र ३ का शंकास्पद ७ जनाको नाम उल्लेख गरेर अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ। ल्लिा प्रहरी कार्यालय अछामले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरेको छ।
अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद ढकारीकै दुई किशोरलाई नियन्त्रणमा लिएको छ। ती किशोरीसँग उनीहरूले भेटघाट गर्ने गरेको पाइएको छ। घटनाका दिन स्थानीयले घटनास्थलभन्दा माथि केही किशोरलाई देखेका पनि थिए। ‘अहिले नै केही भन्न सकिने अवस्था छैन। शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले भने, ‘विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।’
घटनास्थलमा किशोरीहरूले प्रयोग गर्ने मोबाइल पनि भेटिएका छन्। प्रहरीले अहिले विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा घटना अनुसन्धान गरिरहेको छ। किशोरीले प्रयोग गर्ने मोबाइल खोतल्दै प्राविधिक पाटोको पनि विश्लेषण भइरहेको प्रहरीले जनाएको छ। दुवै किशोरीको शव भेरी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ। तर रिपोर्ट आइनसकेको प्रहरीको भनाइ छ।