देहरादूनमा नेपाली संस्कृति चिनाईदै

अत्तरिया : कालो पाइन्ट, कालै भोटाभित्र सेतो सर्ट, त्यसमाथि सेतो भंग्रा यस्तै पहिरनमा सजिएका सबैले शिरमा ढाका टोपी ढल्काएका छन् । कसैले सनही बोकेका छन्, कसैले कर्नाल त कसैले ढोलकी र ट्याम्को ।
उनीहरू भूपू गोर्खा सैनिक हुन । कुनै बेला बन्दुक समातेर लडेका उनीहरू अहिले भारत उत्तराखण्ड राज्यको देहेरादूनमा नौमती बाजा बजाएर संस्कृति जर्गेनामा जुटेका छन् ।
पुख्र्यौली संस्कृति जर्गेनाका साथै देहेरादूनका नेपाली भाषी नयाँ पुस्तालाई संस्कृति चिनाउन तल्लीन छन्, उनीहरू । ११ जना भूपू सैनिक गोलबद्ध भएर एक दशकदेखि यो कार्यमा छन् ।
विवाह, बतबन्ध लगायतमा नौमती बाजा बजाउन उनीहरूलाई बोलाउने गरिन्छ । देहेरादूनमा नौमती बाजा बजाउने एक्लो समूह उनीहरूकै हो ।
‘पहिले पहिले आधुनिक साउण्ड बजाउँथे । हामीले पुख्र्यौली बाजा बजाउन थालेपछि सबैतिरबाट बोलाउँछन्,’ देहेरादूनका केपी गुरुङ भन्छन्, ‘पुख्र्यौली बाजा बजाएर नयाँ पुस्तालाई संस्कृत चिनाउन पाउँदा निकै खुसी लाग्छ ।’
गुरुङको पुख्र्यौली घर बाग्लुङ हो । वर्षौंअघि उनी देहेरादूनमा आएका थिए । १८ वर्षको उमेरमा गोर्खा सैनिकमा भर्ना भएका उनले ३० वर्ष सेवा गरे । देहेरादूनमै घर बनाएर परिवारसँगै अहिले उनी यतै बस्छन् ।
सेनाबाट सेवानिवृत्त भएपछि अहिले उनी शिक्षण पनि गर्छन् । उनकै नेतृत्वमा अन्य १० जनालाई एकजुट गरेर नौमती बजाउने टीम तयार पारिएको हो जहाँ अधिकांश भूपू सैनिक छन् ।
‘सुरुआतमा आफैँले पैसा संकलन गरेर बाजा खरिद ग¥यौँ । बुवाबाजेले बजाएको देखेका थियौँ । हामीलाई बजाउन आउँदैनथ्यो,’ ५८ वर्षीय धनबहादुर गुरुङ भन्छन्, ‘युट्युब हेरेर सिक्यौँ। अहिले ११ जना नै सबै बाजा बजाउन पोख्त भइसकेका छौँ ।’
विभिन्न कार्यक्रम लगायत विवाह, ब्रतबन्धमा बाजा बजाएबापत पैसा पनि लिन्छन् । जसले संस्कृति जर्गेनासँगै भूपू सैनिकको घरखर्च पनि जोहो हुने गरेको छ । धनबहादुरका अनुसार बाजाको १५ हजारदेखि २५ हजारसम्म लिने गरिन्छ ।
‘त्यो रकम बाजाहरूको मर्मतमा खर्च गर्छौं । केही रकम हामीलाई पनि बच्छ,’ उनले भने, ‘वार्षिक १५ लाखसम्म संकलन हुन्छ ।’ देहेरादूनमा १५÷२० लाखको हाराहारीमा गोर्खाली बसोबास गर्ने गरेका छन् ।
पुख्र्यौली संस्कृतिमा नयाँ पुस्ताको आकर्षण निराशजनक छ । नयाँ पुस्ताले परम्परागत भेषभूषा तथा भाषा संस्कृतिमा रुची नराख्दा लोप हुँदै गएको पदमबहादुर थापा बताउँछन् ।
उनको पुख्र्यौली घर पोखरा हो। गोर्खा सेनाको क्याप्टेनबाट उनी रिटायर्ड भएका थिए । अहिले उनी नौमती बजाउने समूहमा आबद्ध भएर नयाँ पुस्तालाई संस्कृति पुस्तान्तरण गर्नमा तत्लीन छन् । ‘हामी बुढो भइसक्यौँ। नयाँ पुस्ताले पुख्र्यौली संस्कृतिमा ध्यान दिएका छैनन् । यस्तै रह्यो भने हामीसँगै संस्कृति हराएर जाने देखिन्छ,’ उनले भने, ‘त्यसैले नयाँ पुस्तालाई आफ्नो संस्कृति बताउन यो कार्यमा लागेका हौँ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.