दार्चुलाका तिन उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त कृषक’ पुरस्कार

दार्चुला : दार्चुलाका तिन जना उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरिएको छ । विगत एक दशकभन्दा लामो समयदेखि कृषि पेसामा आबद्ध भई व्यावसायिक रूपमा कृषि गर्दै आउनुभएका उत्कृष्ट कृषकलाई कृषि ज्ञान केन्द्र दार्चुलाले सोमबार एक कार्यक्रमका बिच पुरस्कृत गरेको हो ।
कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०८१\८२ को वार्षिक स्वीकृत ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रम अन्तर्गत उत्कृष्ट हुने शैल्यशिखर नगरपालिका–३ का माहुरी पालक कृषक प्रजापती भट्ट, महाकाली नगरपालिका–१ का बङ्गुर(कुखुरा पालक कृषक अमरसिंह महरा र मालिकार्जुन गाउँपालिका–८ का तरकारी खेती गरिरहेका कृषक अनिल लोहारलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिए ।

उत्कृष्ट तिन जना कृषकलाई जनही नगद २५ हजार, प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यपले उनीहरूलाई नगद सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए । मालिकार्जुन गाउँपालिका–८ का कृषक अनिल लोहारले ५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन ।
उत्पादित तरकारी बारीबाटै बजारकै भाउमा बिक्री हुने उनले बताए । विद्यालयहरूमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमका लागि गाउँपालिका भरीका विद्यालयहरूले अनिलको तरकारीबारीबाटै तरकारी लिने गरेका छन् ।

कृषि ज्ञान केन्द्रको सहयोगमा पोली हाउस भित्र मैसमी तथा बेमैसमी तरकारी खेती गरिरहेका उनलाई उत्कृष्ट कृषक पुरस्कार समेत प्राप्त भएको छ । पुरस्कार र सम्मानले पेसाप्रति थप लगाव बढेको उनले प्रतिक्रिया दिए । यस्तै शैल्यशिखर नगरपालिका–३ का माहुरी पालक कृषक प्रजापती भट्टले माहुरी पालेर वार्षिक एक हजार पाँच सय किलोग्राम मह उत्पादन गरिरहेका छन । सल्लेरीकोटमा सेरेना जातको माहुरी पालन गरेर मह बिक्रीबाट वार्षिक एघार लाख रुपियाँ आम्दानी गर्ने गरेको उनले बताए । पाँच सय घार माहुरी पालेका उनलाई कृषि ज्ञान केन्द्रले तालिम र अनुदानमा आधारित सामाग्रीहरू उपलब्ध गराउँदै आइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.