कञ्चनपुरका पालिकाको बजेट ७ अर्ब नाघ्यो, कुनको कति ?

कञ्चनपुर : कञ्चनपुर जिल्लाका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गरेका छन् । सबै पालिकाले विगतका कार्यक्रमलाई बढी प्राथमिकता दिएका छन । नौ वटै पालिकाको बजेट ७ अर्ब नाघेको छ ।

कञ्चनपुरको सबैभन्दा पुरानो नगरपालिका भीमदत्त नगरपालिकाले मंगलबार १७ औँ नगर सभामार्फत १ अर्ब ९३ करोड रुपैयाँको बजेट पारित गरेको हो । नगरपालिकाले छोरी बुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमसहित शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएको जनाएको छ ।

कृष्णपुर नगरपालिकाले १ अर्ब १ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ । वेदकोट नगरपालिकाले ९८ करोड ६५ लाख बराबरको बजेट पारित गरेको छ । दुवै नगरपालिकाले शिक्षा र स्वास्थ्य लगायतका सामाजिक सेवा क्षेत्रमा प्राथमिकता दिएका छन । मङ्गलबार नै शुक्लाफाँटा नगरपालिकाले ९२ करोड रुपैयाँ बराबरको बजेट र पुनर्वास नगरपालिकाले ७५ करोड ७७ लाख बराबरको बजेट पारित गरेका छन् । बेलडाँडी गाउँपालिकाले ५४ करोड ५० लाख रुपैयाँको बजेट पारित गरेको छन् । गाउँपालिकाले अढाई दशकयता दलदलमा परिणत भएको डेढ हजार बिघा भन्दा बढी खेतीयोग्य जमिनलाई पुनरुत्पादन लागि ठोस कदम चाल्ने नीति लिएको छ ।

यसअघि बेलौरी नगरपालिका र दोधाराचाँदनी नगरपालिकाले आइतबार नगर सभा सम्पन्न गर्दै दुवैले ७६ करोड रुपैयाँ बराबरको बजेट पारित गरेका थिए । बाढीका कारण डुबानको जोखिममा पर्ने यी दुवै पालिकाहरूले विपद् व्यवस्थापन र पूर्व तयारीमा विशेष प्राथमिकता दिएको जनाइएको छ । लालझाडी गाउँपालिकाले भने शुक्रबार नीति तथा कार्यक्रम र सोमबार बजेट सार्वजनिक गर्दै ४३ करोड ६५ लाख रुपैयाँको बजेट पारित गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.