सृजनशिल महिला विकास सहकारीको कृषि उपज संकलन केन्द्रको उद्घाटन

अत्तरिया, ३ भदौ : गोदावरी नगरपालिका–८ जमुनानगरमा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्रको उद्घाटन गरिएको छ ।
महिलाको  नेतृत्व रहेको यस सहकारी संस्थाले कृषि उत्पादनलाई स्थानीय स्तरमै मूल्य अभिवृद्धि गर्दै बजार व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रको निर्माण गरेको हो । गोदावरी नगरपालीकाको वडा नं ६ लालपुरमा संस्थाको कृषि उपज केन्द्रको  मंगलबार आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा राज्यमन्त्री बमले सृजनशील सहकारी संस्थाले कृषि उपज संकलन केन्द्र सञ्चालनसँगै करिब १२ कठ्ठा जग्गा खरिद गरी आफ्नै जग्गामा भवन निर्माण सम्पन्न गरेको उल्लेखनीय उपलब्धिको प्रसंसा गरे । मन्त्री बमले  विगतमा प्रचलित साहु–महाजन प्रथा र चर्को ब्याज प्रणालीको अन्त्यमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । सहकारीमार्फत सदस्यहरूले सहज रूपमा ऋण प्राप्त गर्दै जीवनस्तरमा सुधार ल्याउनुका साथै आत्मनिर्भर बन्ने अवसर पाएको भन्दै उनले सहकारी क्षेत्रको योगदानलाई उच्च मूल्याङ्कन गरे ।
मन्त्री बमले ऋण लिँदा सदस्यहरूले इमानदारी देखाई तोकिएको समयमा ब्याज चुक्ता गर्नुपर्नेमा जोड दिँदै, “नियम अनुसार सञ्चालन भए सहकारी संस्थाले सफलताको उचाइ हासिल गर्न सक्छ ।,”
उनले सहकारी संस्थाहरूले उत्पादनमूलक, व्यवसायिक तथा शिपमूलक कार्यमा सक्रिय भई आम्दानी सिर्जना गर्ने हो भने दीगो सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । त्यस्तै सृजनशिल सहकारी जस्ता सेवामुखी सहकारी संस्थाको हित र माग पूरा गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
आर्थिक मामिला राज्यमन्त्री बमद्वारा सृजनशिल महिला विकास सहकारी संस्थाको उपलब्धिको प्रसंसा
स्थानीय कृषि उत्पादनलाई बजारीकरणमा टेवा पुग्ने : अध्यक्ष खड्का
यस्तै समारोहमा विशिष्ट अतिथि सांसद तुलसी देवकोटाले सृजनशील सहकारी संस्था निरन्तर कठिनाइ, चुनौतीहरूका बाबजुद सदस्य, पदाधिकारी र कर्मचारीहरूको इमान्दारिताले उल्लेखनीय प्रगति गर्न सफल भएको बताइन् ।
उनले महिलाहरूलाई आत्मनिर्भर बनाउन संस्था निरन्तर कटिबद्ध रहेको र सबैको विश्वासकै कारण सहकारीले आफ्नै नवनिर्मित कृषि उत्पादन संकलन केन्द्र भवन निर्माण सम्पन्न गर्न सकेको उल्लेख गरिन् । सांसद देवकोटाले संस्थालाई अझ सबल बनाउन “सहकारी हाम्रै हो” भन्ने भावना बोकेर अघि बढेमा कुनै कमजोरी नदेखिने र संस्था निरन्तर सफलतापूर्वक सञ्चालन हुने विश्वास व्यक्त गरिन् ।
समारोहमा राष्ट्रिय सहाकारी बैंक धनगढीका कार्यालय प्रमुख दिनेश गेलालले  महिला सशक्तिकरण, महिलाको आर्थिक रूपान्तरण, समाजमा उत्कृष्ट भूमिका बनाउनको लागी सहकारी बैंक सदैव सहकार्य गर्न तयार रहेको बताए ।
यस्तै सहकारीकी अध्यक्ष भावना खड्काले कृषिजन्य उत्पादन संकलन, भण्डारण र वितरणका लागि कृषि उपज संकलन केन्द्रलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस प्रकारका परियोजनाले महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने र कृषि क्षेत्रमा प्रभाव पर्ने बताईन् ।
यस्तै सदस्यहरुको कृषि उत्पादनलाई संकलन गर्ने  कृषि उपज संकलन केन्द्रबाट, तोरी, हल्दी, संकलन सँगै आफ्नै उत्पादन गर्ने मिल समेत जडान गरिएको छ । साथै उत्पादित तोरीको तेल, हल्दी, गुड लगायत वस्तु सस्तो मूल्यमा सदस्यहरूलाई उपलब्ध गराउने उद्देश्य लिएको अध्यक्ष खड्काले बताईन् । उनले किसानका उत्पादनलाई उचित मूल्य दिलाउन, महिलाको आत्मनिर्भरता बढाउन र सदस्यहरूलाई कृषि व्यवसायी तर्फ उन्मुख  बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
समारोहमा वडा नं ६ का वडाध्यक्ष जग्गु राम चौधरी, ८ का वडाध्यक्ष गोविन्द चौधरी, पूर्व वडाध्यक्ष विर बहादुर चोखाल, कृषि ज्ञान केन्द्र धनगढी कार्यालय प्रमुख टेक विष्ट, राष्ट्रिय सहकारी बैंक धनगढी कार्यालय प्रमुख दिनेश गेलाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन व्यवस्थापक गौरी चौधरीले गरेकी हुन । साथै संस्थाले सोही दिन नव निर्मित भवनबाट शिक्षा तथा तिज विशेष कार्यक्रम समेत आयोजना गरेको थियो ।
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.