अत्तरिया : दशैँको टीकाको दोस्रो दिन शुक्रबारसमेत टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आज पनि आफन्तकोमा टीका लगाउन जाने क्रम जारी नै रहन्छ ।
दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद बिहीबार लगाएपछि आज अन्य आफन्तकामा जानेले बजारमा चहलपहल बढेको हो।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइएको हो। बिहीबार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।