घरपालुवा जनावरका लागि खोप अभियान सञ्चालन गरिँदै

कञ्चनपुर : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ ।

केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार गाईभैँसी, बाख्रा, बंगुरलगायतका घरपालुवा जनावरलाई विभिन्न सङ्क्रमक रोगविरुद्ध खोप लगाइने भएको हो ।

जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरी पशु प्राविधिक सूचीकृतको कार्य अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँले खोप कार्यक्रमलाई पशुपालकका गोठमै पुगेर लगाउने व्यवस्था मिलाइने बताए । विगतका वर्षझै यसवर्ष पनि खोरेत, पिपआर लगायतका खोप अभियान सञ्चालन हुने छन् ।

उनले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका घरपालुवा जनावर जंगली जनावरको सम्पर्कमा आउने सम्भावना बढी हुन्छ, यसले गर्दा संक्रामक रोग सर्ने खतरा हुन्छ र त्यसैले खोप अभियानलाई यस क्षेत्रमा बढी केन्द्रित गर्छौ, त्यसबाहेकका क्षेत्रमा पनि खोप अभियान सञ्चालन हुन्छ ।” घरपालुवा जनावरमा प्रायः खोरेत, पिपिआर लगायतका रोग देखिने गर्छ ।

यी रोगविरुद्ध समयमै खोप लगाउन नसक्दा ठूलो मात्रामा जनावर मर्ने, दूध–मासु उत्पादन घट्ने र किसानको जीविकोपार्जनमा गम्भीर असर पर्ने देखिन्छ ।

उनका अनुसार खोप लगाइएपछि पशुपालक किसानले आफ्नो जनावर रोगबाट सुरक्षित भएको अनुभूति गर्ने छन् । यसले दूध, मासु उत्पादनमा वृद्धि गर्ने मात्र होइन, पशुधनमा आधारित परिवारको जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । रेविजविरुद्धको खोप भने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा बाह्रैमहिना किसानलाई निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.