बाजुरा पाँडीका महिलालाई कोदो टिप्न चटारो

बाजुरा  : बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–६ पाँडीका महिलाहरुलाई यती बेला कोदो टिप्न चटारो परेको छ ।असारमा लगाएको कोदो यती बेला पाकेपछि यहाँका महिलाहरुलाई टिप्न चटारो परेको हो ।

पाँडीका स्थानीय कोदो कतै बिक्री नहुने भएकाले पहिला उनीहरु आफुलाई खानलाई मात्र कादो खेती गर्ने गरेका थिए । तर, अहिले यहाँको कोदो देशका विभिन्न सहरमा माग बढ्दै गएपछि यहाँका किसानले कोदो खेती बढि गर्न थालेका छन् ।

अहिले यहाँका स्थानीयले एक परिवारले झण्डै पाँचदेखि आठ क्वीन्टल कोदो उत्पादन गर्ने गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराले यसको महत्त्वबारेमा किसानलाई जानकारी गरेसँगै यहाँका स्थानीय तहले सरकारी कार्यालयमा कोदोको परिकारको खाजा अनिवार्य गरेपछि पाडीवासीहरुले पनि कोदो खेती बढी गर्न थालेका हुन् ।

पहिला बाटो थिएन । गाउँमा बिक्री हुँदैन थियो । आफुलाई खानलाई मात्र कोदो खेती गर्ने गरेका थियौ । तर अहिले कोदोको माग हुन थालेपछि कोदो खेती गर्न थालेको हिमाली गाउँपालिका –६ पाँडाकी जमुना बोहराले बताए ।

राम्रोसँग सुकाएर राखेको कोदोलाई एक किलोको झण्डै साठी रुपियाँमा बिक्री गर्ने गरेको बोहराले बताइन । पाँडीमा झण्डै १४० परिवार बसोबास गर्ने गर्दछन् । पछिल्लो समय उनीहरु सबै कोदो खेती गर्दछन् । यहाँका स्थानीयले पछिल्लो समय झण्डै एक हजार १६० क्वीन्टल कोदो उत्पादन हुन्छ ।

अन्य ठाउँको कोदोभन्दा यहाँको कोदो स्वास्थ्यका लागि निकै उत्तम हुन्छ । भेडाबाख्राको गौत गोबरबाट उत्पादन गरेकाले यहाँका कोदो स्वास्थ्यका लागि उत्तम हुने गरेको छ । यहाँ प्रायः भेडाबाख्रा पालन गर्दछन् । कोदो खेतीमा त्यसैको मल जमिनमा हाल्ने गर्छन् ।

कोदो मानव स्वास्थ्यका लागि निकै उपयोगी छ । प्रत्येक १०० ग्राम कोदोमा प्रोटिन ७।६ ग्राम फ्याट १।५ ग्राम कार्बोहाइड्रेट ८८ ग्राम क्यालसिएम ३७० ग्राम भिटामिन ०.४८ मिलिग्राम थाइमिन (बि१) ०.३३ मिलिग्राम राइबोफ्ल्याबिन (बि२) ०.११ मिलिग्राम नाइसिन(बि३) : १.२ मिलिग्राम फाइबरः ३ ग्राम १ पौष्टिक तत्वहरु पाईने कृषि प्राविधिक बताउँछन् ।

गत वर्षमा यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा उत्पादन भएको कोदो देशका विभिन्न सहरमा पुग्छ ।

कोदो खेती स्थानीयको जीविकोपार्जन गर्न सहज देखिएकाले स्थानीय तहले कोदो खेतीमा उत्प्रेरित गर्दै आएका छन्  । यस जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य छ । त्यसमध्ये पाँच हजार २३५ हेक्टर जमिन वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ ।

त्यसमा कोदो खाद्यान्न उत्पादनको योगदान २२.६२ प्रतिशत मात्र रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जसिराम साहनीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.