अत्तरिया : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले कैलालीमा दुई दिनमा दुई सय २८ क्विन्टल धान खरिद गरेको छ ।
बुधबारबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले बिहीबारसम्म उक्त परिमाणको धान खरिद गरेको हो । खाद्य कम्पनीले जिल्लाको मोहनपुर, गौरीगंगा, टीकापुर, सत्ती, भजनी र जोशीपुरमा खरिद केन्द्र तोकेर धान खरिद सुरु गरेको छ । हाल मोहनपुरबाट मात्रै धान खरिद भइरहेको र दुई÷तीन दिनभित्र छ वटै खरिद केन्द्रबाट धान खरिद सुरु गर्ने तयारी भइरहेको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए । सरकारले निर्धारण गरेको धानको न्युनतम समर्थन मूल्यमा किसानबाट धान खरिद भइरहेको तथा जिल्लामा मोटा धान मात्रै खरिद गरिने उनले बताए ।
सरकारले यस वर्ष मोटा धानको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ३ हजार ४६३.८१ निर्धारण गरेको छ । जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरिएको उनले बताए । एक किसानबाट बढीमा ५० क्विन्टल धान खरिद गरिने कार्यालय प्रमुख थापाले बताए । कम्पनीको मापदण्ड अनुसारको धान मात्रै खरिद गरिने तथा किसानले धान बिक्रीका लागि परिचय खुल्ने कागजात, किसान प्रमाणित सिफारिस, बैंकमार्फत रकम भुक्तानी गरिने भएकाले चेकको प्रतिलिपी ल्याउनुपर्ने उनले बताए ।
खाद्यले धान खरिद सुरु गरेसँगै किसानलाई ठूलो राहत भएको छ । यसअघि किसान सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका थिए ।
गत वर्ष जिल्लामा कम्पनीको धान खरिदको कोटा ५५ हजार क्विन्टल रहेकोमा ३४ हजार ५ सय क्विन्टल मात्रै धान खरिद भएको थियो ।