धनगढी ; धनगढी उपमहानगरपालिकाले महिला उद्यमशीलता प्रवद्र्धनका उद्देश्यले शनिवारे मेला पुनः सुरु गरेको छ । शनिवार देखि औपचारिक रूपमा सुरु गरिएको मेला हरेक साताको शनिवार धनगढी–१ पार्कमोडस्थित जेनजी मार्गमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
मेलाको उद्घाटन सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले गरेका हुन् । उद्घाटन कार्यक्रममा मन्त्री थापाले महिलाको सीप र उत्पादनलाई बजारसम्म पुर्याउने र उनीहरूको आत्मबल वृद्धि गर्ने उद्देश्यले यस्तो मेला आयोजना गर्नु उपमहानगरपालिकाको सराहनीय पहल भएको बताए । उनले भने, “महिलाहरूको सीपलाई बजारसम्म पुर्याउने, उनीहरूलाई आर्थिक रूपमा सबल बनाउने र आत्मनिर्भर बनाउने कार्यमा यस मेलाले महत्वपूर्ण भूमिका खेल्नेछ ।”
उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उप–मेयर कन्दकला कुमारी रानाले महिला सशक्तीकरण र स्वरोजगारलाई प्राथमिकता दिँदै शनिवारे महिला उद्यम बजारको सुरुवात गरिएको बताइन् । उनले भनिन्, “यो बजार महिलाको सीप र परिश्रमलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने मञ्च हो । यहाँ धनगढीमा बसोबास गर्ने महिलाहरूले आफ्ना सीपअनुसार उत्पादन गरेका सामग्री र परिकारको बिक्री–वितरण गर्न सक्नेछन् ।” उप–मेयर रानाले मेलाले सीप भएका महिलालाई घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै, उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।
मेलाको पहिलो दिन विभिन्न महिलाले आफ्ना उत्पादन तथा परम्परागत परिकारका स्टलहरू राखेका थिए । हस्तकलादेखि लिएर घरेलु खाद्य परिकार, कपडा, सुन्दरता सामग्री, र घरायसी प्रयोगका वस्तुसम्मको प्रदर्शनी गरिएको थियो । मेलामा आएका दर्शक र उपभोक्ताले स्थानीय महिलाद्वारा निर्मित वस्तुहरूमा चासो देखाएका थिए । धनगढी उपमहानगरपालिकाले महिलाको सीप र उत्पादनलाई निरन्तरता र बजार पहुँच दिलाउने उद्देश्यले हरेक साताको शनिवार यस मेला सञ्चालन गर्ने जनाएको छ । स्थानीय प्रशासनले मेला क्षेत्रलाई सुरक्षित र सहज बनाउने तयारी गरेको छ ।
स्थानीय महिला उद्यमीहरूले भने यस्तो अवसरले आफ्नो व्यवसाय र सीपलाई थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । शनिवारे मेलाबाट महिलाहरूको आत्मनिर्भरता, आयआर्जन, र उद्यमशीलताको नयाँ बाटो खुलेको जनाइएको छ ।
सम्बन्धित पाेस्टहरु