अत्तरिया कृषि सहकारी संस्थाको साधारण सभा, ३ करोड ७० लाख ६० हजार ३५३ रुपैयाँ बचत

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं १ बंनखेतमा रहेको अत्तरिया कृषि सहकारी संस्था लमिटेडको १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार संस्था अध्यक्ष देवबहादुर साउँद सभापतित्वमा आयोजित साधारण सभाका प्रमुख अतिथि प्रमुख अतिथि शेयर सदस्य लक्षी राम आचार्य रहेका थिए ।
नेपाल सहकारी प्राधिकरणले तोकेका नियमहरू बमोजिम संस्थाले आबद्ध शेयर सदस्य बाहेक अन्य कुनै व्यक्तिलाई आमन्त्रण नगरी साधारण सभा आयोजना गरेको थियो । साधारण सभामा शेयर सदस्यलाई नै प्रमुख अतिथि तोकी संस्थामा आबद्ध सदस्यहरूको उपस्थितिमा सभा सञ्चालन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शेयर सदस्य लक्षी राम आचार्यले सहकारी सहकार्यमा आधारित संस्था भएको बताउँदै सहकारी भनेको व्यक्तिसँग भएको सानो देखि ठूला पूँजीलाई बचत मार्फत संकलन गरी सदस्यहरूको हितमा परिचालन गर्ने संस्था रहेको बताए । उनले सहकारीले आबद्ध सदस्यहरूलाई सर्वसुलभ ब्याजदरमा ऋण उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए । साथै, सहकारी संस्थाले सामाजिक, आर्थिक तथा आय–आर्जनका क्षेत्रमा सकारात्मक योगदान पु¥याउँदै आएको उनले बताए ।

यस्तै सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष देव बहादुर साउँदले गरेका थिए । लेखा समितिको प्रतिवेदन प्रस्तुत लेखा समिति संयोजक नन्दराज भट्टले गरेका थिए । संस्थाको आयव्यय प्रस्तुत व्यवस्थापक सक्रान्ति भट्टले गरेकी थिइन् ।

सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार २०७३ सालमा ३३ जना शेयर सदस्यहरु मिलेर ५ लाख ४० हजार कारोबार बाट सञ्चालन गरेको संस्थामा आर्थिक वर्ष २०८१\०८२ मा आइपुग्दा ८ सय ५५ जना शेयर सदस्यहरु पुगेका छन् । संस्थाको कुल शेयर पूंजी ८९ लाख ६१ हजार रहेको छ । यस्तै संस्थाले यसबर्ष ७ करोड १३ लाख ५१ हजार ५०७ रुपैयाँको आर्थिक कारोबार गरेको छ । संस्थाले गरेको कारोबार बाट यस वर्ष १८ लाख ६७ हजार ५५१ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले आ व २०८१\०८२ मा निक्षेप तर्फ ३ करोड ७० लाख ६० हजार ३५३ रुपैयाँ बचत संकलन गरेको छ । कर्जा तर्फ ६ करोड २३ लाख १२ हजार ३५५ रुपैयाँ ऋणमा लगानी गरेको छ । यस्तै संस्थाको जगेडा कोषमा ५८ लाख १० हजार २८९ रुपैयाँ रहेको छ ।
सभामा सहभागी सदस्यहरूले आफ्नो धारणा राख्दै अत्तरिया कृषि सहकारी छोटो अवधिमै उल्लेखनीय फड्को मार्न सफल सहकारी संस्था भएको बताए । उनीहरुले सहकारीले आफ्ना सदस्यहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।

सहकारीले व्यापार, कृषि लगायत जीविको पार्जनका विभिन्न क्षेत्रमा सदस्यहरूको जीवनस्तर उकास्न सहज र सर्वसुलभ रूपमा ऋण उपलब्ध गराउँदै आएको साथै, सदस्यहरूले लिएको ऋणको उचित सदुपयोग गर्दै समयमै कर्जा चुक्ता गर्नुपर्नेमा जोड दिँदै ढिलावसुस्तीका कारण लाग्ने हर्जानाबाट बच्न तथा सहकारीलाई अझ उच्च बनाउने दायित्व सबैको भएको बताएका थिए ।

साधारण सभामा विभिन्न विधामा सम्मान सहित पुरस्कार वितरण :

संस्थाले साधारण सभाको अवसर पारी जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान सहित कम्बल वितरण गरेको छ । जसमा ज्येष्ठ नागरिक मध्ये सदस्य कुल बहादुर निरौला, देविकली योगी र करु देवी कामीलाई सम्मान सहित कम्बल वितरण गरिएको थियो ।

संस्थाले हरेक वर्ष झै यस वर्ष पनि शेयर सदस्यका बालबालिका मध्ये एसईई, प्लस टू मा साथै यस वर्ष थप गरी कक्षा ८ मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने एक–एक जना विद्यार्थीहरुलाई “उत्कृष्ट शैक्षिक पुरस्कार“ अन्तर्गत ३ हजार ५ सय मा कर कट्टी २ हजार ६ सय २५ रुपैयाँ नगद सहित सम्मान पत्र प्रदान गरेको छ । जसमा कक्षा ८ तर्फ शेयर सदस्य मञ्जु सुरीकी छोरी रोशनी सुरी, कक्षा एसईई तर्फ शेयर सदस्य दुर्गा घटालाकी छोरा लक्ष्मण घटाला र कक्षा प्लस टू तर्फ शेयर सदस्य नवराज फुलाराका छोरा केशव फुलारालाई पुरस्कार वितरण गरेको छ । संस्थाका संचालक समिति सदस्य हरी कृष्ण पाण्डेयले स्वागत् मन्तब्य सँगै सुरु भएको कार्यक्रम सञ्चालन संस्थाका शेयर सदस्य शिव राज रेग्मीले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.