सानाकिसान कृषि सहकारी मालाखेतीको साधारण सभा : ५६ करोड ७८ लाख रुपैयाँ कारोबार र १ करोड बढीको मुनाफा

अत्तरिया : गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको सानाकिसान कृषि सहकारी संस्था लि. मालाखेतीको २९ औं साधारण सभा सम्पन्न भएको छ ।

आईतबार संस्थाका अध्यक्ष तेजराज अवस्थीको सभापतित्वमा आयोजित साधारण सभाका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक तथा कृषि सहकारी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्म सिंह कुँवर रहेका थिए ।

सभामा प्रमुख अतिथि कुंवरले साना किसान सहकारी संस्थाले कृषिमा उद्यमशीलता विकास गर्दै व्यवसायिक किसानहरूलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै सहकारीले किसानहरूलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराउँदै आत्मनिर्भर बनाउने दिशामा प्रोत्साहन गर्दै आएको बताए ।

साना किसान कृषि सहकारीले सदस्यहरूको नेतृत्व क्षमता तथा सीप विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम मार्फत उनीहरूलाई क्रमशः अगाडि बढाइरहेको उनले बताए । शेयर सदस्यहरूले संस्थासँग आबद्ध हुँदा सचेत रहनुपर्ने आवश्यकता रहेको बताउँदै आफ्नै सहकारीको संरक्षण र विकासमा सबै सदस्यहरूको सक्रिय भूमिका अनिवार्य रहेको बताए ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत अध्यक्ष तेज राज अवस्थीले गरेका थिए । आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत संस्थाकी लेखा समिति संयोजक सुष्मा केसीले गरेकी थिइन् । संस्थाको आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट प्रस्तुत संस्थाका मुख्य प्रबन्धक गोरख बहादुर खत्रीले गरेका थिए ।

संस्थाको प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको कुल शेयर पूंजी ३ करोड ५० लाख ७८ हजार ४ सय निक्षेप तर्फ २५ करोड ९० लाख ४५ हजार ३१८ रुपैयाँ बचत संकलन गरेको छ । भने ४८ करोड १६ लाख ५८ हजार ५९१ रुपैयाँ ऋणमा लगानी गरेको छ । संस्थाले ५६ करोड ७८ लाख १५ हजार ८९५ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ । आर्थिक वर्ष २०८१\०८२ मा संस्थाले गरेको विभिन्न कारोबार बाट १ करोड ८ लाख ८ हजार ६३० रकम खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाको जगेडा कोषमा ४ करोड ६० लाख २४ हजार ५१५ रहेको प्रतिवेनमा उल्लेख गरिएको छ ।
संस्थाका सञ्चालक समिति सदस्य पुष्पलाल खतिवडाको स्वागत् मन्तब्य सँगै संचालित साधारण सभाको कार्यक्रम सञ्चालन कर्मचारी विपना लामा गरेकी थिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.