अत्तरिया, ५ माघ : धनगढीमा प्रदेशस्तरीय सिप तथा रोजगार मेला–२०८२ को सुरुवात भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सुरु भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले औपचारिक रूपमा उद्घाटन गरेका हुन । मेला धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा सञ्चालन भइरहेको छ ।
मेलाको उद्देश्य सुदूरपश्चिम प्रदेशका युवायुवतीलाई सीप विकासमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्नु रहेको आयोजकले जनाएको छ । मेलाअन्तर्गत ७ वटा मुख्य क्षेत्रका २२ प्रकारका सिपमूलक तालिम सञ्चालन गरिनेछ । प्रत्येक तालिममा २५ जनाका दरले प्रशिक्षार्थी छनोट गरि सहभागी गराईएको छ । यस वर्ष कुल ६ सय जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिइएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले युवायुवतीलाई सीपयुक्त बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताए । सीप विकास र रोजगारबीचको दूरी घटाउन यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले स्थानीय तहको सक्रियताले रोजगारी प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सुदूरपश्चिमका युवायुवतीलाई सीपसहित आत्मनिर्भर बनाउने उद्देश्यले मेला आयोजना गरिएको बताए । उनका अनुसार यस वर्षको मेलाका लागि प्रदेशभरबाट ३ हजार ८ सय २ जनाले आवेदन दिएका थिए । आवेदनमध्ये सबैभन्दा धेरै एड्भान्स ब्युटिसियन तालिममा परेको मेयर हमालले जानकारी दिए ।
आवेदन दिनेहरूमध्ये करिब २ हजार २ सय महिला, करिब १५ सय पुरुष तथा बाँकी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहका आवेदक रहेका छन् । सबैभन्दा धेरै आवेदन धनगढी उपमहानगरपालिका क्षेत्रबाट परेको जनाइएको छ ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले सबै पालिकाका युवायुवतीलाई समेटिएको बताइन्। गत वर्ष तालिम लिएका करिब ५० प्रतिशत सहभागीले रोजगारी पाएको तथ्यले यस वर्ष थप हौसला मिलेको उनको भनाइ छ ।