कैलाली–४ को निर्वाचन अधिकृतको कार्यालय सारियो, अब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नयाँ भवनबाट सेवा
अत्तरिया : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीलाई थप व्यवस्थित बनाउन कैलाली निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय सारिएको छ। निर्वाचन आयोग नेपाल अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय यसअघि गोदावरी नगरपालिका–१ स्थित कृषि तथा पशुपन्छी उपचार सेवा केन्द्रको भवनमा सञ्चालनमा थियो।
मतपत्र व्यवस्थापन, जनशक्ति परिचालन तथा मतगणनाजस्ता महत्त्वपूर्ण कार्यका लागि उक्त भवन अपर्याप्त भएपछि कार्यालयलाई नयाँ स्थानमा सारिएको हो। निर्वाचन अधिकृतको कार्यालय मिति २०८२ माघ १९ गतेदेखि गोदावरी नगरपालिका–५ स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उत्तर–पूर्वतर्फ खेलमैदानसँगै जोडिएको खाली भवनबाट सञ्चालनमा आएको छ। नयाँ कार्यालय सिद्धबाबा माध्यमिक विद्यालय, गेटी नजिक अवस्थित छ।
निर्वाचन प्रक्रिया प्रभावकारी, सुरक्षित र सुचारु बनाउन गरिएको यस स्थानान्तरणबारे सम्बन्धित सबै सरोकारवाला तथा सर्वसाधारणको जानकारीका लागि निर्वाचन आयोगले सूचना प्रकाशित गरेको हो।
निर्वाचन अधिकृत हरि प्रसाद आचार्यका अनुसार नयाँ स्थानबाट सेवासुविधा थप सहज हुने र निर्वाचनका सम्पूर्ण काम व्यवस्थित रूपमा अघि बढ्ने विश्वास लिइएको छ।