कांग्रेस कैलाली–४ का उम्मेदवार विष्टद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक, वडामा निःशुल्क वाईफाइ जोन देखि आधुनिक कृषिका कुरा

अत्तरिया : प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द) ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

गोदावरी–२ को दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई आइटी कलेज बनाउने, प्रत्येक वडामा निशुल्क वाइफाइ जोनदेखि भूमिहीनलाई लालपुर्जा वितरण गर्नेसम्मका योजना राखेर उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

आइतबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै विष्टले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । कृषि, पशुपालन तथा सहकारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, महिला, दलित, आदीवासी जनजाती तथा पछाडी पारिएका समुदाय, समावेशिता, उद्योग, लगानी र निजि क्षेत्र, वातावरण संरक्षण र दिगो विकासका साथै युवा तथा स्वरोजगार र विविध गरी १० वटा बुँदा समेटेर प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
प्रतिबद्धता पत्रमा उनले राष्ट्रवाद, लोकतन्त्र र समाजवादका मूल्यमान्यतामा आधारित समावेशी विकास, सुशासन र सामाजिक न्याय आफ्नो प्राथमिकता रहने बताएका छन् ।

कैलाली क्षेत्र नम्बर ४ को भौगोलिक विकटता, बेरोजगारी, गरिबी, पूर्वाधार अभाव, शिक्षा र स्वास्थ्य क्षेत्रका चुनौतीलाई सम्बोधन गर्ने स्पष्ट कार्य योजना रहेको उनले सुनाए । उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबिच समन्वय, सहकार्य र सहभागितामार्फत दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कृषि, पशुपालन तथा सहकारी क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उनले आधुनिक कृषि प्रणाली, सिँचाइ विस्तार, मल–बीउको सहज आपूर्ति र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख गरे । कृषकलाई उत्पादनसँगै प्रशोधन र बजारीकरणमा जोड्दै ग्रामीण अर्थतन्त्र मजबुत बनाइने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्न अनुदान, सहुलियत कर्जा र प्राविधिक तालिमको व्यवस्था गरिने प्रतिविद्धतामा समेटिएको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै उनले सामुदायिक विद्यालयको स्तरोन्नति, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार र विद्यालय–कलेजमा डिजिटल पूर्वाधार विकास गर्ने योजना अघि सारेका छन् ।

प्रत्येक वडामा निःशुल्क वाई फाइ जोन, ई–लाइब्रेरी तथा डिजिटल सीप तालिम सञ्चालन गरिने उल्लेख गरिएको छ । साथै, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र विशेष सहयोग कार्यक्रम सञ्चालन गरिने उनले बताए । स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य चौकी तथा अस्पतालमा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सुधार र विशेषज्ञ सेवाको पहुँच बढाउने योजना समेटिएको छ । ग्रामीण भेगमा नियमित स्वास्थ्य शिविर सञ्चालन र आपत्कालीन सेवाको सुदृढीकरणमा जोड दिइएको छ ।
उद्योग, लगानी र रोजगारी सिर्जनालाई अर्को महत्त्वपूर्ण एजेन्डा बनाउँदै विष्टले स्थानीय स्रोत–साधनमा आधारित साना तथा मझौला उद्योग प्रवद्र्धन गर्ने उनले बताएका छन् । औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण, लगानीमैत्री वातावरण सिर्जना र युवालाई स्वरोजगारीमुखी बनाउन सहुलियत कर्जा कार्यक्रम ल्याइने उनको प्रतिबद्धता छ । विदेश पलायन भएका युवाको सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने वातावरण तयार पारिने उनले बताएका छन ।

सामाजिक न्याय र समावेशितालाई विशेष महत्त्व दिँदै दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, महिला, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न लक्षित कार्यक्रम सञ्चालन गरिने प्रतिविद्धतामा उल्लेख छ । श्रमिकको हक–हित संरक्षण, सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन र सीमान्तकृत समुदायको सशक्तीकरणमा जोड दिइएको छ ।

पूर्वाधार विकासतर्फ सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी तथा सरसफाइ विस्तार र विद्युत् सेवा सुदृढीकरण गर्ने योजना अघि सारिएको छ । उनले जल, जमिन र जंगलको संरक्षणलाई प्राथमिकता दिँदै वातावरणीय सन्तुलन कायम राख्ने कार्यक्रम सञ्चालन गरिने बताए । बढ्दो जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
सुशासन र पारदर्शितालाई आफ्नो कार्यशैलीको आधार बनाउने प्रतिबद्धता जनाउँदै विष्टले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने बताए । नागरिकको प्रत्यक्ष सहभागितामा नीति निर्माण, सार्वजनिक सुनुवाइ र उत्तरदायित्व प्रणाली सुदृढ गरिने उनको भनाइ छ । विकास योजनाको प्रभावकारी अनुगमन तथा मूल्याङ्कनका लागि पारदर्शी संयन्त्र स्थापना गरिने प्रतिविद्धतामा जनाएको छ ।

उनले युवा शक्तिलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा लिँदै रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवद्र्धनमार्फत आत्मनिर्भर बनाउने लक्ष्य राखिएको जोड दिए । खेलकुद, संस्कृति तथा पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रीय पहिचानलाई उजागर गर्दै आर्थिक गतिविधि बढाउने योजना पनि समेटिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.