कांग्रेसले सार्वजनिक गरेको ‘भिजन टेन’ का १० बुँदामा के छ ?

अत्तरिया : नेपाली कांग्रेसले यही फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर ‘भिजन टेन’ समेटिएको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बुधबार मधेश प्रदेशको राजधानी जनकपुरको तिरुहुतियागाछीमा आयोजित सभामार्फत् कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो ।

प्रतिज्ञापत्रका विषयमा कांग्रेसले आज बिहीबार राष्ट्रिय सभागृह काठमाडौंमा प्रश्नोत्तर कार्यक्रम समेत गर्दैछ । जहाँ देशविदेशबाट भर्चुअल माध्यममार्फत् प्रश्न राख्न पाइनेछ । सभागृहमा उपस्थित भएर भौतिक रूपमा पनि प्रश्न राख्न पाइने कांग्रेले जनाएको छ । यी प्रश्नहरूमा सभापति गगनकुमार थापाले जवाफ दिनेछन् ।

युग परिवर्तन भए पनि जनतालाई सम्पन्न र सम्मानित बनाउने संघर्षकालीन इतिहासको त्यही लक्ष्य नै आफ्नो मूल प्रेरणा रहेको कांग्रेसले बताएको छ ।
विगतका थुप्रै ऐतिहासिक उपलब्धिमाथि गर्व गर्दै र समस्त कमी(कमजोरीको अनुभवबाट पाठ सिक्दै देशको अवस्था बदल्ने र देशलाई सम्हाल्ने दृढ प्रतिज्ञाकासाथ घरदैलोमा आएको कांग्रेसको भनाइ छ ।

‘आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु हुनेछ । यसका निम्ति हामीले हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ भन्ने लिपिबद्ध गरेका छौं । यो आगामी पाँच वर्षभित्रै हासिल हुन सक्ने लक्ष्य होइन, हामीले बनाउन चाहेको सुन्दर नेपालको तस्वीर हो’, कांग्रेसले भनेको छ, ‘हाम्रो यो प्रतिज्ञापत्रमा प्रस्तुत गरिएका सिद्धान्त, नीति र आगामी पाँच वर्षका कार्यक्रमहरू त्यही लक्ष्यलाई हासिल गर्ने प्रारम्भिक पाइलाहरू हुन् ।’

आफूलाई विशेष महाधिवेशनमार्फत् बदलिएर आएको भन्ने कांग्रेसले प्रतिज्ञापत्रमा के के विषय समेटेको छ त ? यसबारे यहाँ विस्तृत चर्चा गरिएको छ ।

सम्मानित भएर बाँच्न पाउने नेपाल

कांग्रेसले आफ्नो परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुने बताएको छ ।
कानूनको परिधिभित्र रही इच्छाअनुसारको काम, पेसा(व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुने कांग्रेसको प्रतिज्ञा छ । देश विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुने छैनन् भन्ने कांग्रेसो प्रतिज्ञा छ ।

‘हामी यस्तो समाजको निर्माण गर्नेछौं, जुन कुनै पनि बहानामा हुने शारीरिक, मानसिक वा लैङ्गिक हिंसाबाट मुक्त हुनेछ । वंश, जाति वा लिङ्गका आधारमा प्राप्त हुने विशेषाधिकार एवं जन्म भएको परिवार वा स्थानको आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुनेछ’, भिजन १० को पहिलो बुँदामा भनिएको छ, ‘जात, धर्म, वर्ण, लिङ्ग, वर्ग वा भूगोलका आधारमा सृजना भएका छुवाछुत, विभेद र अवरोधलाई भत्काउँदै हामी प्रत्येक नागरिकले आत्मसम्मानका साथ निर्धक्क बाँच्न र सिर्जना गर्न सक्ने साझा घर र सहिष्णु समाज बनाउनेछौं ।’

सपना देख सक्ने नेपाल

कांग्रेसले परिकल्पना गरेको नेपाल प्रगति र उन्नतिको सपना देखे नागरिकहरूको देश हुनेछ । दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाहसँगै अग्रज पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयत्नले ती सपनाहरू साकार हुने कांग्रेसको भनाइ छ । राष्ट्रिय नवनिर्माणको भावनाले ओतप्रोत युवाहरू शासन र विकासका साझेदार बन्ने कांग्रेसको भिजन १० मा उल्लेख छ ।

‘उज्यालो भविष्य खोज्ने युवालाई स्वदेशमै परिवारसँगै रमाउँदै मर्यादित र आकर्षक अवसरहरू हुनेछन्, जहाँ उनीहरूको सृजनशीलताको उच्च कदर र प्रोत्साहन हुनेछ’, कांग्रेसले भनेको छ, ‘हाम्रो राज्य प्रवास रहेर पौरख र सामर्थ्य खर्चिरहेका नेपालीहरूको पनि अभिभावक हुनेछ । संसारभरि छरिएका नेपालीको भावना, ज्ञान, सीप र पुँजी मातृभूमिको पुनर्जागरणमा जोडिनेछ । हाम्रो देश विदेशिएका नेपालीलाई ुफर्कन रहर लाग्नेु र स्वदेशमा रहेकालाई यहीं सुनौलो भविष्य देखिनेु जीवन्त देश हुनेछ ।’

सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल

आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सृजना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य बनाउने कांग्रेसको परिकल्पना छ ।

सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिने साथै, आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आय आर्जन गर्न सक्ने गरी सक्षम बनाउने कांग्रेसको भिजन छ ।

‘श्रमिकको पसिना पवित्र छ, उसको मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मान राज्यको कर्तव्य हुनेछ । राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्नेछ, तर अवैध तरिकाले सम्पत्ति थुपार्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्नेछ । आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिकै रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्नेछ’, कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा भनेको छ ।

पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

कांग्रेसले नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुने कुरालाई सुनिश्चित गर्ने बताएको छ । कृषि पेसा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुने कांग्रेसको भनाइ छ ।

‘नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिचता समेत पाउनेछन्’, कांग्रेसले भनेको छ ।

युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्‌ने, राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्ने कांग्रेसको योजना छ । नेपालको उत्पादनलाई विश्व बजारमा ुब्राण्ड बनाउने भिजन बोकेका कृषि उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिने कांग्रेसको परिकल्पना छ ।

ओखती र ओत दिने नेपाल

कांग्रेसको परिकल्पनाको नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ । परिवारमा कसैलाई रोग लागिहाले ‘कसरी उपचार गर्ने’ र ‘अस्पतालको शुल्क कसरी तिर्ने’ भन्ने डरबाट नागरिकहरू मुक्त हुने राज्य बनाउन चाहेको कांग्रेसले बताएको छ ।

‘स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ । विकसित देशको स्तरको उन्नत स्वास्थ्य वीमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पूरा गर्नेछ’, कांग्रेसको भिजन १० को पाँचौं बुँदामा भनिएको छ ।

छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण लगानी मान्ने बनाउने योजना कांग्रेसले समेटेको छ । शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन गर्ने, आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्ने कांग्रेसको प्रतिज्ञा छ ।

‘शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्छ, त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ । सबै किसिमका हिंसा र शोषणबाट मुक्त हाम्रा नानीबाबुले विद्यालय र खेलमैदानमा रमाउँदै बाल्यकाल बिताउन पाउने छन्’, कांग्रेसले भनेको छ, ‘प्रि(प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरू विद्यार्थीको सृजनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र हुनेछन् ।
जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणालीले हाम्रा युवालाई विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बनाउनेछ ।’

बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बने आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुने अवस्था बनाउने बताएको छ । निमुखालाई ऐन र ठूलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य गर्ने कांग्रेसको भनाइ छ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहने कांग्रेसको प्रतिज्ञा छ ।

‘अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ । स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुनेछन्’, कांग्रेस भन्छ, ‘राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपालुको अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने छन् । निर्भयतापूर्वक सरकारसँग प्रत्र गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ ।’

मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल

नेपाललाई मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल बनाइने कांग्रेसको भनाइ छ । कांग्रेसको परिकल्पनाको नेपालमा सबै विविधता र विशिष्टताहरूको समान रूपमा सम्मान र सम्वर्द्धन हुने जनाएको छ ।

‘हाम्रो विविधता र विशिष्टता नै नेपालको मौलिक पहिचान हो । नेपालका हिमाल, पहाड र मधेशमा बस्ने सबै जातजाति, उनीहरूले बोल्ने भाषा, मान्ने धर्म, परम्परा, संस्कृति, कला र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो । हाम्रा विविध भाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण हुनेछ । हाम्रो परिकल्पनाको नेपालमा यी सबै विविधता र विशिष्टताहरूको समान रूपमा सम्मान र सम्वर्द्धन हुनेछ’, कांग्रेसले भनेको छ, ‘यिनै विविधता र विशिष्टताको जगमा उभिएर हामी आधुनिकतासँग कुममा कुम मिलाएर अघि बढ्ने नेपाल निर्माण गर्नेछौं । विश्व ज्ञान, विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको, तर आफ्नो मौलिकतामा गर्व गर्ने नेपाल निर्माण हुनेछ ।’

विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

कांग्रेसले परिकल्पनाको नेपाल विश्व समुदायमाझ एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रको रूपमा स्थापित हुनेछ । नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिने कांग्रेसले बताएको छ ।

‘हाम्रो छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुनेछ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाउनेछ’, कांग्रेसको भिजन १० को नवौं बुँदामा भनिएको छ, ‘हामी नेपाललाई सगरमाथा, बुद्ध, पशुपति र जानकीको देशका रूपमा मात्र होइन, विश्व समुदायको एक जिम्मेवार र प्रतिष्ठित सदस्यका रूपमा चिनाउनेछौं । हामी यस्तो नेपाल बनाउने छौं, जहाँको राहदानीलाई अरूले सम्मान गरून् र हामीले सदैव गर्व गर्न सकौं ।’

समुन्नतिमा लम्कने नेपाल

कांग्रेसले नेपालको समुन्नतिलाई पनि आफ्नो प्रतिज्ञापत्रमा समेटेको छ । जहाँ प्रणालीको कार्यसम्पादन क्षमता उत्कृष्ट र परिणाममुखी हुने कांग्रेसको परिकल्पना छ ।

कांग्रेसका अनुसार सबै योजनाहरूको गति र गुणस्तर विश्वस्तरको हुनेछ । कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको द्रुत विकास हुनेछ ।

‘हिमाल, नदी, वनजंगल जस्ता हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित रहनेछन् । हाम्रो अर्थतन्त्र खुला, प्रतिस्पर्धी, प्रविधिमैत्री र पर्यावरणमैत्री हुनेछ, जसले अन्तर्राष्ट्रिय लगानी र प्रविधिलाई आकर्षित गर्नेछ’, कांग्रेसले भनेको छ, ‘हाम्रो परिणाममुखी लोकतन्त्रमा सरकार सत्ताको निरन्तरतामा होइन, जनजीवनमा देखिने प्रत्यक्ष सुधार र उपलब्धिमा केन्द्रित हुनेछ । देश निर्माणको अभियानमा सबै जात, जाति, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक सहभागिता रहनेछ । समुन्नतिको लाभ सामाजिक न्यायका आधारमा सबै नागरिकले समान रूपमा पाउने अवस्था सुनिश्चित हुनेछ ।’

सबल, सक्षम, स्वतन्त्र र सम्मानित नेपाली नागरिकको साझा प्रयत्नबाट निर्माण हुने समुन्नत नेपालमा जातीय, भाषिक, क्षेत्रीय लगायतका विविधताको जोडबाट नयाँ भाव सृजना भई नेपाली राष्ट्रियता सुदृढ र सबल हुने कांग्रेसको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.