कैलाली क्षेत्र नं. ४ मा ‘रुख’ को लहर

अत्तरिया : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आनन्द बिष्टले चुनावी अभियानलाई तीव्र बनाएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा उनले गोदावरी नगरपालिका–२ मा घरदैलो कार्यक्रमलाई केन्द्रित गर्दै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । घर–घर पुगेर हातेमालो गर्ने, समस्या सुन्ने र समाधानको प्रतिबद्धता व्यक्त गर्ने उनको शैलीले यस क्षेत्रमा छुट्टै प्रभाव छोड्दै गएको स्थानीयहरू बताउँछन् ।
घरदैलोका क्रममा बुद्धिजीवी, अग्रज, युवा तथा महिलाहरूले उम्मेदवार बिष्टलाई स्वागत गर्दै विजयको शुभकामना दिए । टोल–टोलमा देखिएको उत्साहपूर्ण सहभागिताले कैलाली–४ मा चुनावी माहोल थप ऊर्जा र आशावादले भरिएको छ । स्थानीय बासिन्दाहरूका अनुसार पछिल्ला दिनहरूमा गाउँ–गाउँमा ‘रुख’ प्रतीकप्रति आकर्षण बढ्दो छ, जसले कांग्रेसको पक्षमा सकारात्मक वातावरण निर्माण गरेको संकेत गर्छ ।
यस अभियानमा क्षेत्रीय सभापति बसन्त रोकाया (ललित) को सक्रियता छ । उनीसँगै युवा परिचालनको कमाण्ड सम्हालेका कमल कडायत लगायतका नेताहरू निरन्तर मैदानमा खटिएका छन् । पार्टी संगठनको समन्वय, अनुशासन र रणनीतिक परिचालनका कारण चुनावी अभियान व्यवस्थित र प्रभावकारी रूपमा अघि बढिरहेको नेताहरूको दाबी छ । सभापति रोकायाका अनुसार जहाँ–जहाँ टोली पुगेको छ, त्यहाँ उत्साहजनक समर्थन देखिएको छ ।
रोकायाले पार्टीप्रतिको प्रतिबद्धता दोहोर्याउँदै भने, “हामी बाँचुन्जेल पार्टीलाई बचाउने र जिताउने अभियानमा समर्पित छौँ ।” उनले आनन्द बिष्टलाई मत दिनुपर्ने आधार स्पष्ट पार्दै देश–विदेशमा उनले गरेका सामाजिक कार्यलाई प्रमुख कारणका रूपमा उल्लेख गरे । भूकम्प, बाढी, पहिरो तथा महामारीजस्ता विपद्का समयमा आनन्द बिष्ट अग्रपङ्क्तिमा उभिएर सहयोग पु¥याएको उनको दाबी छ ।
गोदावरी नगरपालिका, चुरे गाउँपालिका, गौरी गंगा नगरपालिकाको समग्र चुनावी परिवेश हेर्दा आनन्द बिष्टको पक्षमा जनसमर्थन विस्तार हुँदै गएको स्थानीय विश्लेषण छ । सशक्त संगठन, सक्रिय घरदैलो र मतदातासँगको प्रत्यक्ष सम्बन्धका कारण कैलाली–४ मा नेपाली कांग्रेसले बलियो प्रतिस्पर्धा प्रस्तुत गरेको आकलन गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.