कैलाली–४ मा एमाले नेता कांग्रेस प्रवेशले चुनावी समीकरण रोचक बन्दै

अत्तरिया  : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढिरहेको छ। कैलाली क्षेत्र नम्बर ४ मा गोरख बहादुर बिष्ट ‘आनन्द’ले आफ्नो अभियानलाई झन् तीव्र बनाएका छन्। नेपाली कांग्रेस बाट उम्मेदवार बनेका बिष्टले गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाको कार्यक्रम सकेर यतिबेला गोदावरी नगरपालिका केन्द्रित अभियान चलाइरहेका छन्।

गोदावरी–११ को भाटुलीमाडु मन्दिर क्षेत्रमा घरदैलो, टोलभेला र र्यालीसहित उनले एकै दिन दर्जनभन्दा बढी कार्यक्रम सम्पन्न गरेका छन्। यसैबीच अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित वडा सदस्य खन्टे बुढा कांग्रेसमा प्रवेश गरेका छन्। बिष्टले उनलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए। बुढाको प्रवेशले कांग्रेस अभियान थप सशक्त हुने विश्वास व्यक्त गरिएको छ।

गोदावरी–१२ को कोल्मुडामा आयोजित सभामा बिष्टले भौतिक पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। वडा नम्बर ९ को सेहरी गाउँमा राना थारु समुदायसँग भेटघाट गर्दै उनले समावेशी विकासको एजेन्डा अघि सारे। विभिन्न वडामा निकालिएको संयुक्त र्यालीमा समर्थकहरूले फूलमालासहित स्वागत गरेका थिए। चुनावी मैदानमा बढ्दो जनसमर्थन र दल परिवर्तनका घटनाले कैलाली–४ को प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.