अत्तरिया । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नं. ४ का उम्मेदवार हरिराम चौधरी ‘उत्सव’ले निर्वाचन लक्षित घरदैलोलाई व्यापक बनाएका छन् ।
उनले निर्वाचन क्षेत्रका विभिन्न टोल बस्तीहरुमा गएर जनतासँग प्रत्यक्ष छलफल गरेर समस्या बुझ्ने तथा आफ्ना प्रतिवद्धता जनतामाँझ राख्ने गरेका छन् ।
चौधरीले विकास निर्माण,शिक्षा,स्वास्थ्य तथा रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै उनले निर्वाचन क्षेत्रभित्र रहेका मुक्त कमैया,भूमिहीन सुकुम्बासीलगायतका समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताए ।
उनले भने ‘यस क्षेत्रमा विकट ग्रामीण क्षेत्रहरु पनि छन् । जहाँ खानेपानी,सिचाइँ, सडकलगायतका समस्या पनि छन् । निर्वाचित भएर गएपछि यी यावत समस्याहरुलाई प्राथमिकतामा राखेर मैले काम गर्छु ।’
त्यस्तै उनले गोदावरीलाई व्यवस्थित सहर बनाउने,गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अस्पतालसँगै एमबीबीएसको पढाइ सञ्चालनका लागि पहल गर्ने बताए ।
विगतमा यस क्षेत्रबाट जितेर गएका उम्मेदवार फर्केर नआउने जनताको गनासो रहेको बताउँदै उनले आफू निर्वाचित भए जनतामाँझ गएर उनीहरुकै सुझाव सल्लाहका आधारमा काम गर्ने बताए ।
त्यस्तै, देशमा व्याप्त भ्रष्टाचार अन्य,सुशासन,आर्थिक समृद्धिका लागि स्थायी सरकारको खाँचो रहेको बताए । उनले आफूले घरदैलोका क्रममा जनताबाट अपार माया पाइरहेको बताउँदै निर्वाचनमा जनताको साथ प्राप्त हुने दाबी गरे ।