धनगढी : नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । नेपाली कांग्रेसले आइतबार काठमाडौंको ५ र ६ गरेको संयुक्त चुनावी सभामा कांग्रेस सभापति गगन कुमार थापा र कांग्रेस बीपीका सभापति सुशील शेरचनले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।
कांग्रेसका निर्वाचन समितिका संयोजक सिताराम केसी र कांग्रेस (बीपी) का वरिष्ठ नेता कर्णबहादुर मल्लबीच पार्टी एकताका लागि सहमतीका आधार तय गरेका थिए । त्यही आधारमा समाहित भएको हो ।
शेरचनको टोलीले गत पुस १४ गते तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पार्टीमा समाहित हुन चाहेको प्रस्ताव राखेका थिए । गत पुसमा विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बनेपछि कांग्रेस बीपीका नेताहरूले फेरि एकता संवाद अगाडि बढाएका थिए र आईतबार अन्ततः एकता भएको छ ।
कांग्रेस बीपीको संगठन देशभर ५४ जिल्ला र सातै प्रदेशमा फैलिएको छ । १५१ सदस्यीय केन्द्रीय समितिमा हाल १२२ जना मात्रै सक्रिय छन्, बाँकी पदाधिकारी र सदस्यहरू पहिले नै कांग्रेसमा प्रवेश गरिसकेका थिए । डडेल्धुरामा भने वडा तहसम्म संगठन कायम छ । जिल्लाका ५२ वडामा, सात पालिका, दुई प्रदेश र जिल्ला कार्यसमिति रहेका छन् ।
पूर्व जिल्ला सभापति कर्ण मल्ल कांग्रेस बीपीमा प्रवेशपछि डडेल्धुरामा राम्रो जनमत देखिएको थियो । २०७९ को निर्वाचनमा मल्लले देउवाविरुद्ध उम्मेदवारी दिँदा ७,५३५ मत ल्याएका थिए ।
त्यस्तै, प्रदेशसभा २ मा कांग्रेस बीपीले समर्थन गरेको स्वतन्त्र उम्मेदवार तारा जोशीले कांग्रेसका गोविन्द बोहरालाई पराजित गर्दै ११,१६१ मत प्राप्त गरेका थिए । स्थानीय निर्वाचनमा पनि कांग्रेस बीपीले डडेल्धुरामा दुई वडाध्यक्ष जितेको थियो । अमरगढी–८ का वडाध्यक्ष नरबहादुर साकी र गन्यापधुरा–१ का अध्यक्ष नरेश भण्डारी विजयी भएका थिए ।
विश्लेषकहरूले कांग्रेस बीपीको आगमपछि कांग्रेसलाई केही हजार मत समानुपातिकतर्फ थपिने अनुमान गरेका छन् । तर मुख्य लाभ कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई हुने देखिन्छ ।
गत निर्वाचनमा डडेल्धुरामा कांग्रेसले समानुपातिकतर्फ १८,५६२ मत पाएको थियो, एमाले ९,२१४, नेकपा ९,३७२, कांग्रेस बीपी ४,५१४, रास्वपा ३,६५० र राप्रपा १,५०० मत पाएका थिए ।