अत्तरिया । पुर्चौंडी नगरपालिका–१० को महरागाउँमा मौसमी ज्वरोको प्रकोप देखिँदा दुई बालकको ज्यान गएको छ। स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार १३ वर्षीय विनोद महरा र १० वर्षीय विकास महराको ज्वरोका कारण निधन भएको हो।
समुदायमा उच्च ज्वरो, रुघाखोकी, टाउको दुखाइ, वान्ता, कमजोरी तथा केहीमा स्वासप्रश्वासमा समस्या देखिएको छ। महरागाउँका ३२ घरपरिवारसहित गोरागाउँ र साङडी टोलका करिब १०० घरपरिवार प्रभावित भएका छन्। हालसम्म करिब २०० जना बिरामी परेको अनुमान गरिएको छ भने संक्रमित दर घट्दो क्रममा रहेको जनाइएको छ।
दुवै बालबालिकालाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि प्रेषण गरिएको थियो। तर उपचारकै क्रममा फागुन ११ र फागुन १६ गते उनीहरूको मृत्यु भएको हो। प्रारम्भिक रूपमा मौसमी भाइरल ज्वरो सम्भावित कारण मानिए पनि प्रयोगशाला परीक्षणपछि मात्रै यकिन हुने स्वास्थ्यकर्मीले बताएका छन्।
केही घरपरिवारले बिरामीलाई समयमै स्वास्थ्य संस्थामा नलगाएको, सरसफाइ कमजोर रहेको तथा असुरक्षित पानी र खाद्यवस्तु उपभोग गरिएको प्रारम्भिक अवलोकनले देखाएको छ।
घटनापछि नगरपालिकाले द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ। स्वास्थ्य शाखा प्रमुख विनोद कुमार कुँवर नेतृत्वको टोलीमा जनस्वास्थ्य अधिकृत, स्वास्थ्यकर्मी र ल्याब प्राविधिक खटिएका छन्। साथै स्वास्थ्य कार्यालय बैतडी र जिल्ला अस्पताल बैतडी सँगको समन्वयमा चिकित्सक टोलीसमेत परिचालित छ।
हालसम्म ६७ जनाको स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार गरिएको छ। सक्रिय लक्षण देखिएका १० जनाको थ्रोट स्वाब नमुना परीक्षणका लागि पठाइएको छ भने प्रभावित क्षेत्रमा पानीका तीन नमुना संकलन गरी परीक्षण प्रक्रिया अघि बढाइएको छ। आवश्यक औषधि व्यवस्थापन र सिकिस्त बिरामीको २४सै घण्टा निगरानी भइरहेको जनाइएको छ।
वडा समितिको सहजीकरणमा बजार अनुगमन कडाइ गरिएको छ। पानी उमालेर पिउन, हात साबुनपानीले धुन, मास्क प्रयोग गर्न तथा अनावश्यक जमघट नगर्न समुदायलाई आग्रह गरिएको छ।
नगरपालिकाले अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म स्वास्थ्य सेवा निरन्तरता दिने, गम्भीर बिरामीलाई तत्काल रेफरल गर्ने र संक्रमण फैलिन नदिन नियमित अनुगमन जारी राख्ने जनाएको छ।