धनगढी : वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफूसँग घुस मागेको आरोप लगाएका छन् । मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख घुस मागेको भट्टले आरोप लगाएका हुन् ।
पाँच लाख दिन नसकेपछि डिभिजन वन कार्यालय धनगढीको प्रमुख पदबाट आफूलाई हटाइएको भट्टको आरोप छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट साउन ३० गते भट्टको पहलमानपुर सरुवा भएको थियो ।
ऐनविपरीत आफूहरूको सरुवा गरिएको भन्दै भट्टले उच्च अदालत दीपायलमा रिट दायर गरेका थिए । अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । केही समयपछि उच्च अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न दिएको आदेश निष्क्रिय पारेकोमा वरिष्ठ डिभिजनल वन अधिकृत भट्टलाई प्रदेश वन निर्देशनालय तानिएको थियो ।
घुस मागेको आरोपपछि मुख्यमन्त्री शाहले मंगलबार पत्रकार सम्मेलन गरै आफ्नो धारण सार्वजनिक गरेका छन् । उनले आफूले घुस नमागेको बताउँदै भट्टले लगाएको आरोपमाथि छानबिन गरिदिन आग्रह गरेका छन् । ’छानबिन गर्ने थुप्रै निकाय छन्, मुख्यमन्त्री शाहले भने, ’तत्काल छानबिन गरिदिनु प¥यो । म दोषी देखिएपछि म कारबाही भोग्न तयार छु । होइन भने जथाभावी आरोप लगाउने कर्मचारीलाई कारबाही हुनुपर्छ ।
सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लामोसमयदेखि मन्त्रीविहीन छन् । नाउपाबाट वनमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले कार्यशैली ठिक नभएको भन्दै असारमा बर्खास्त गरेका थिए । त्यसयता उक्त मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाहले आफैसंग राखेका छन् ।