धनगढी । दार्चुलामा भीरबाट खसेका निर्वाचन प्रहरीको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार भीरबाट खसेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
धामी सोमबार ४० दिने सेवा अवधी पूरा गरेर घर फर्किने क्रममा लेकम गाउँपालिका–१ मा पर्ने दानुखोला भीरबाट खसेर गम्भीर घाइते भएका थिए । दार्चुलामा उपचार सम्भव नभएपछि डडेल्धुरा हुँदै धामीलाई धनगढी ल्याइएको थियो ।
तर, उपचारका क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक९एसएसपी० पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार धामीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।