धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ले २०४६ सालपछि भएका सबै भ्रष्टाचारका घटनाको छानबिन हुनुपर्ने बताएका छन् ।
घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको विषयमा कसैले खुट्टा नकमाउन आग्रह गर्दै सरकारले छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
‘२०४६ सालदेखिका सबै भ्रष्टाचारका मुद्दा छानबिन हुनुपर्छ । कसैले खुट्टा नकमाउनुहोस्, हामी साथमा छौँ,’ उनले भने । मुख्यमन्त्री शाहले मुलुक स्थिर सरकारतर्फ अघि बढिरहेको बताउँदै अब देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले संविधान संशोधनको विषय पनि अगाडि बढ्न सक्ने बताउँदै त्यसका लागि शुभकामना व्यक्त गरे ।
उनले युवाहरू विदेश पलायन भइरहेका विषयमा चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावका बेला दिएका आश्वासन पूरा गर्नुपर्ने बताए । “हिजो प्रश्न गर्ने ठाउँमा रहेका नेताहरू अहिले उत्तर दिने ठाउँमा पुगेका छन् । अब बोलेका कुरा व्यवहारमा लागू गर्नुपर्छ, युवाहरू कहिलेबाट विदेश जान रोकिन्छन्, विदेशमा भएकाहरू कहिलेदेखि फर्किन थाल्छन् ” उनले सोधे ।
प्रदेश संरचना र गणतन्त्रजस्ता विषयमा पनि रास्वपाले स्पष्ट धारणा ल्याउनुपर्ने उनको भनाइ थियो । ‘प्रदेश संरचना भत्काउने हो भने स्पष्ट भन्नुपर्छ, अधिकार दिन्छु भनेपछि दिनुपर्छ,’ उनले भने ।
देश विकासका लागि निश्चित समयभित्र स्पष्ट रोडम्याप र कार्यतालिका ल्याउनुपर्नेमा उनले जोड दिए । साथै वर्तमान समयअनुसार शिक्षा प्रणालीमा सुधार र गुणस्तर वृद्धि आवश्यक रहेको पनि उनले बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का ले आगामी संघीय सरकारलाई शुभकामना दिँदै पाँच वर्ष स्थिर रूपमा काम गर्न आग्रह गरे । विदेश गएका नेपालीहरू स्वदेश फर्कने वातावरण बनाउनुपर्ने उनले बताए । कैलाली क्षेत्र नम्बर ३ मा रास्वपाबाट नवनिर्वाचित सांसद जगत जोशी ले शिक्षामा परिवर्तन नगरी समाज परिवर्तन सम्भव नहुने भन्दै मुलुकमा नैतिक शिक्षाको आवश्यकता औँल्याए ।
घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष लक्ष्मण न्युरेले प्रदेश सरकारको सहयोगले शिक्षाको विकासमा ठूलो टेवा पुगेको बताए । घोडाघोडी नगरपालिकाका मेयर खडक रावत ले तीनै तहका सरकारबीच समन्वय भए घोडाघोडीको विकास सम्भव हुने बताए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन राना ले शिक्षाको सुधारका लागि आयोग सधैं साथमा रहने बताइन् । क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराई ले मुख्यमन्त्री शाहको सहयोगका कारण घोडाघोडी क्षेत्रमा धेरै विकास भएको बताए ।
उनले थप बिकासको लागी ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष बिष्णु सापकोटाले शैक्षिक गुणस्तरको प्रयोग गरिने बताएका थिए । प्राबिधिक शिक्षालाई जोड दिदै नमुना सामुदायिक बिद्यालयको नीति लिएर अघि बढ्ने उनले बताएका थिए । प्रदेश सरकारको करिब १० करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको भवन तीन चरणमा निर्माण सम्पन्न गरिने बताइएको छ ।
सम्बन्धित पाेस्टहरु