सुदूरपश्चिममा १ सय ४४ उम्मेदवारको धरौटी जफत

अत्तरिया : प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा गरी १ सय ४४ जना उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन आयोगको प्रावधानअनुसार कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । निर्वाचन परिणामअनुसार प्रदेशका विभिन्न जिल्लामा ठूलो संख्यामा उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको हो । प्रदेशभर सबैभन्दा धेरै उम्मेदवारको धरौटी कैलालीमा जफत भएको छ भने सबैभन्दा कम बझाङमा रहेको देखिएको छ ।

तथ्यांकअनुसार कैलालीमा ३ लाख ५ हजार १ सय २२ मत खसेकामा ५५ जना उम्मेदवारको धरौटी जफत भएको हो । त्यस्तै कञ्चनपुरमा १ लाख ८४ हजार ३ सय १६ मत खसेकामा ४० जना उम्मेदवारको धरौटी जफत भएको छ । त्यसैगरी अछाममा ६४ हजार ७ सय ८० मत खसेकामा ९ जनाको, डोटीमा ५२ हजार ४ सय ८५ मत खसेकामा ५ जनाको, बाजुरामा ४६ हजार २ सय ३२ मत खसेकामा ५ जनाको धरौटी जफत भएको छ । यस्तै बैतडीमा ७३ हजार १ सय ४८ मत खसेकामा ७ जनाको, दार्चुलामा ४९ हजार ९ सय ६८ मत खसेकामा ७ जनाको, डडेल्धुरामा ४५ हजार ९ सय ९ मत खसेकामा १० जनाको तथा बझाङमा ५२ हजार २ सय १७ मत खसेकामा ३ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन परिणामले देखाएको छ ।

जिल्लागत रूपमा हेर्दा बाजुरामा प्रकाशबहादुर शाह (नेपाली कम्युनिस्ट पार्टी) ३ हजार ३ सय १ मत, केशरबहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) ३ सय ५२, भूपेन्द्र ल्वार (नेपाल कम्युनिस्ट पार्टी) (माओवादी) २ सय ३३, दीपककुमार डीसी (प्रगतिशील लोकतान्त्रिक पार्टी) ९७ र उपेन्द्र शाही (स्वतन्त्र) ७२ मत ल्याउँदा उनीहरू सबैको धरौटी जफत भएको छ ।

अछाम–१ मा ओमप्रकाश रावल (राष्ट्रिय स्वतन्त्र पार्टी) १ हजार ७ सय ३९, लोकेन्द्रबहादुर शाह (राष्ट्रिय प्रजातन्त्र पार्टी) १ सय २, लोकेन्द्रबहादुर शाही नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ७५, भीमबहादुर कुँवर (स्वतन्त्र) ४१ र सुरेन्द्र शाही (नेपाल मजदुर किसान पार्टी) १० मत ल्याउँदै धरौटी जफत भएको छ । अछाम–२ मा शेरबहादुर विक नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ५ सय ५८, मीनबहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) १ सय ६७, पुष्पराज न्यौपाने (प्रगतिशील लोकतान्त्रिक पार्टी) १ सय १३, झंकरबहादुर शाही (नेपाल मजदुर किसान पार्टी) ६० र राजेश रावल (स्वतन्त्र) ले ५२ मत ल्याउँदा उनीहरूको पनि धरौटी जफत भएको छ ।

डोटीमा खडकबहादुर अग्रवाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) ५ सय ९४, मणिराज भट्ट (राष्ट्रिय जनमोर्चा) ४ सय १७, प्रकाश कठायत (नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ३ सय ९२, सरस्वतीकुमारी पाल मल्ल (मितेरी पार्टी नेपाल) ४३ र खगेन्द्रबहादुर शाही (नेपाल मजदुर किसान पार्टी) ले ३२ मत ल्याउँदा धरौटी जफत भएको छ ।

डडेल्धुरामा चक्रप्रसाद स्नेही (एमाले) २ हजार ९ सय २६, गोविन्द खडायत (राष्ट्रिय प्रजातन्त्र पार्टी) ८ सय ८२, गोरखबहादुर ऐर (स्वतन्त्र) ४ सय ५३, महेन्द्र पुन मगर (श्रम संस्कृति पार्टी) २ सय ६०, लक्ष्मीदत्त भट्ट (जय मातृभूमि पार्टी) १ सय १७, तीर्थराज उप्रेती (स्वतन्त्र) १ सय ७, चन्द्र देव विक (राष्ट्रिय जनमोर्चा) १ सय ६, सुरेन्द्रराज भट्ट (नेपाल मजदुर किसान पार्टी) ७०, सुरेन्द्र रावल (स्वतन्त्र) ३३ र खडकबहादुर ठकुराठी (आम जनता पार्टी) ले २७ मत ल्याउँदा धरौटी जफत भएको छ ।

त्यसैगरी बझाङ, दार्चुला, बैतडी, कैलाली र कञ्चनपुरका विभिन्न निर्वाचन क्षेत्रमा पनि ठूलो संख्यामा उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको निर्वाचन परिणामले देखाएको छ । समग्रमा सुदूरपश्चिम प्रदेशभर ठूला दलबाहेक साना दल तथा स्वतन्त्र उम्मेदवारले सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा ठूलो संख्यामा उम्मेदवारको धरौटी जफत भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.