धनगढी : आफ्नो अधिकार सुनिश्चित गर्न उपभोक्ता आफै सबै भन्दा सजग बन्न आवश्यक रहेको सरोकारवाला निकायले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आईतबार धनगढीमा आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागिले यस्तो जोड दिएका हुन् । कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय सुदूरपश्चिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले अधिकारका लागि उपभोक्ता आफै जिम्मेवार भएमा धेरै कुरामा सुधार आउने विश्वास व्यक्त गरे । ‘बजारलाई सुधार गर्नका लागि आफैबाट सुधार गर्न आवश्यक छ’, उनले भने । ‘आफ्नो दायित्व सबैले पुरा गर्न आवश्यक देखिएको छ ।’ काम गर्दा देशमा रहेका तीन तहका सरकार बीच समन्वय हुन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा आपुर्ति गर्ने निकायले आफ्नो उत्पादन खानयोग्य भए नभएको आफुलाई नै प्रश्न गर्न आवश्यक रहेको उद्योग वाणिज्य संघ सुदूरपश्चिमका उपाध्यक्ष अनिलकुमार भजनीयाले बताए । उनले अनुगमन गर्दा बजार भन्दा पनि कुनै पनि सामग्री उत्पादन गर्ने उद्योगसम्म पुग्न आवश्यक रहेको बताए । पछिल्लो समय अनलाईन मार्केटिङ मुख्य चुनौतीका रुपमा देखिएको हुँदा त्यसमा राज्य संवेदनशिल बन्नुपर्ने उनले सुझाए ।
कार्यक्रममा उपभोक्ताहित संरक्षणका उपाध्यक्ष धनपति ढुंगेलले बजारमा राज्यको बलियो उपस्थिति आवश्यक रहेको औल्याए । उनले हरेक निकायले आफ्नो कर्तव्य पालना गर्न पनि जोड दिए । पछिल्लो समय डिजिटल कन्टेटहरुले बजारलाई धेरै प्रभाव पारेकोले त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको उनले बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका कार्यकारी प्रमुख ज्योति भट्टले खरिद गरिसकेको सामान एक हप्ता सम्म फिर्ता गर्न सकीन्ने नीति भए पनि त्यो कार्यान्वयन हुन नसकेको जोड दिए ।
यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले उपभोक्ताले ठगिनबाट बच्नका लागि स्वंयम आफै सचेत बन्नुपर्नेमा उल्लेख गरे । ‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ भन्ने नाराका साथ भएको कार्यक्तममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख सुरेश प्रसाद जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख जोशीले बजार अनुगमन र त्यसको प्रभावका बारेमा आफ्नो प्रस्तुतिमा राखेका थिए । उनले विगत बर्ष भन्दा कमै मात्रामा बजार अनुगमन भएको बताए ।
भदौ २३ र २४ गते भएको जेज्जी आन्दोलनका कारण बजार अनुगमनका कार्यक्रम प्रभावित भएको उनले बताए । उनले उपभोक्ताहरुलाई अनलाईनबाट पनि गुनासो राख्ने व्यवस्था मिलाएको बताए । त्यसका लागि कार्यालयले आफ्नो साईटमा क्यिुआर राखिएको उनले जानकारी गराए । कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालयका प्रमुख हेमन्तबहादुर सिंहको अध्यक्षतामा भएको हो ।