आज रामनवमी पर्व मनाइँदै

अत्तरिया  : चैत्र शुक्ल नवमीका अवसरमा भगवान् रामचन्द्रको जन्मोत्सव रामनवमी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। त्रेतायुगमा दशरथ र कौसल्याका सुपुत्रका रूपमा जन्मिएका रामलाई विष्णुको सातौँ अवतार मानिन्छ। मर्यादा, अनुशासन र आदर्श शासनको प्रतीक मानिने रामको जीवनशैली आज पनि समाजका लागि मार्गदर्शक बनेको छ।

यस पर्वले असत्यमाथि सत्यको विजय र आदर्श “रामराज्य”को सन्देश दिन्छ। धार्मिक विश्वासअनुसार यस दिन व्रत, पूजा, जप तथा रामायण पाठ गर्नाले मनोकामना पूरा हुने र पुण्य प्राप्त हुने मान्यता छ। देशभरका राम मन्दिरहरूमा विशेष पूजा, भजनकीर्तन तथा धार्मिक कार्यक्रम भइरहेका छन्।

विशेषगरी रामजानकी मन्दिरमा ठूलो मेला लागेको छ, जहाँ नेपाल र भारतका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। साथै अयोध्यामा पनि रामलीला, स्नान तथा पूजाआजा भव्य रूपमा सम्पन्न भइरहेका छन्।

रामनवमी केवल धार्मिक पर्व मात्र नभई आदर्श जीवन, सत्य र अनुशासन अपनाउने प्रेरणादायी सन्देश बोकेको सांस्कृतिक उत्सवका रूपमा मनाइँदै आएको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.