सुदूरपश्चिमबाट बालेन सरकारमा मन्त्री बनेका प्रतिभा र गीता

अत्तरिया । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा सुदूरपश्चिमका दुई जना मन्त्री भएका छन् । कञ्चनपुरकी प्रतिभा रावल र गीता चौधरी मन्त्री भएका हुन् । दुबैले आजै सपथ ग्रहण पनि गरिसकेका छन् । उनीहरू दुबै समानुपातिकबाट सांसद बनेका हुन् । रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको छ ।

रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा छिन् । एक दशकभन्दा बढी समय पत्रकारिता गरेर राजनीतिमा लागेकी रावलको माइती घर कञ्चनपुर हो । उनले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टिभी लगायतमा काम गरेकी थिइन् । रावलले रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरिन् । रास्वपा गठन भएपछि केही महिनामै केन्द्रीय समिति बिस्तार भएको थियो । त्यही बेलादेखि उनी पनि प्रत्यक्ष रूपमा रास्वपासँग जोडिएकी हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जन्मिएकी उनले एसएलसीसम्मको अध्ययन महेन्द्रनगरमै गरेकी हुन् ।

पाँच वर्षकै उमेरमा बुबाको मृत्यु भएपछि प्रतिभा र उनका दाइलाई आमा माया रावलले अनेक संघर्ष गरेर हुर्काएकी हुन् । उनले गुल्मीका प्रेम अर्यालसंग विवाह गरेकी छिन् । यस्तै, कञ्चनपुरकी चौधरी कृषि, वन, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री भएकी छिन् । शुक्लाफाँटा नगरपालिका ४ की ३३ वर्षीय चौधरी अधिवक्ता हुन् ।

२०७९ सालको निर्वाचनमा गीता नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन् । कञ्चनपुर क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष चुनाव लड्दा पराजित भइन । पछि गीता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोडिएकी थिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.