शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा सञ्चालनका लागि नव नियुक्त मन्त्रीसंग माग

अत्तरिया, १४ चैत : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूले शिक्षा मन्त्रालयमा भेट गरी चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेका छन् । शुक्रबार मात्र मन्त्री सपथ खाएका सस्मित पोखरेल शनिबार मन्त्रालयमा पुगेर आग्रह गरेको हो ।

उपकुलपति प्रा.डा. सुनील कुमार जोशी, रजिस्ट्रार डा. खेमराज जोशी, कार्यकारी परिषद् सदस्य डा. भिम बहादुर चन्द तथा विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोक राज पाण्डेय लगायतको टोलीले शिक्षा मन्त्रीसँग भेटवार्ता गरेको हो ।

टोलीले सांसद केपी खनालको नेतृत्वमा मन्त्रालय पुगेको थियो । मन्त्रालयमा भएको छलफलमा चिकित्सा शिक्षा पठनपाठन सुरु गर्न माग गरेको हो । चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न कम्तिमा ३ सय शैयाको अस्पतालको सङ्गठनात्मक सर्वेक्षण तथा व्यवस्थापन पारित गर्नपर्ने माग गरिएको छ ।

यस्तैगरी अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण गरी आधुनिक उपकरणसहित विशेषज्ञ सेवा सञ्चालन गर्न, चिकित्सा सेवा र शिक्षा विस्तारका लागि आवश्यक बजेट सुनिश्चित गर्न, विश्वविद्यालयमा पदपूर्ति समिति गठन गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्न माग गरिएको छ ।

छलफलका क्रममा नेता खनालले आगामी आर्थिक वर्षभित्रै चिकित्सा शिक्षा अध्ययन र ३ सय शैयाको अस्पताल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए । शिक्षा मन्त्रीले छिट्टै विश्वविद्यालय सभा बस्ने र आवश्यक बजेट व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.