निरन्तरताको अग्निपथमा अग्नी पोष्ट दैनिक

सञ्चार माध्यमको यात्रा आफैंमा चुनौतीपूर्ण हुन्छ, अझ सुदूरपश्चिम प्रदेश जस्तो भौगोलिक र संरचनात्मक हिसाबले पछाडि परेको क्षेत्रमा त यो यात्रा झन् कठिन र संघर्षपूर्ण बन्ने नै भयो । यस्तै चुनौतीका बीच ‘सबको साथ, सबको विकास राष्ट्र सम्पन्नताको आधार’ भन्ने मूल नारालाई आत्मसात् गर्दै अगाडि बढेको कैलालीको अत्तरियाबाट प्रकाशित हुँदै आएको अग्नी पोष्ट दैनिक आज आफ्नो प्रकाशनको दशौँँ वर्षमा प्रवेश गरेको छ । यो केवल समयको गणना मात्र होइन, निरन्तरता, प्रतिबद्धता र विश्वासको कथा पनि हो । दश बर्षमा अग्नी पोष्ट टिमले धेरै आरोहअवरोह झेल्नु पर्यो ।

एक समय थियो, जब अत्तरिया क्षेत्रमा पत्रिका पढ्नकै लागि केन्द्र वा धनगढीको भर पर्नुपर्ने अवस्था थियो । त्यस्तो परिवेशमा स्थानीय स्तरमै दैनिक पत्रिका प्रकाशन गर्ने आँट गर्नु आफैंमा ठूलो निर्णय थियो । सीमित स्रोत, जनशक्ति र पूर्वाधारका बाबजुद अग्नी पोष्टले आफ्नो यात्रा प्रारम्भ ग¥यो । त्यो निर्णयले न केवल अत्तरियाको सञ्चार क्षेत्रमा नयाँ आयाम थप्यो, बरु स्थानीय आवाजलाई मुखरित गर्ने माध्यम पनि बन्यो ।
समयसँगै धेरै परिवर्तनहरू आए । एक समय कैलालीमा दैनिक १८ भन्दा बढी पत्रिका प्रकाशित हुने अवस्था थियो भने आज तीमध्ये धेरैले आफ्नो अस्तित्व जोगाउन सकेनन् । डिजिटल प्रविधिको तीव्र विकास, पाठकको रुचिमा आएको परिवर्तन, र आर्थिक चुनौतीहरूले प्रिन्ट मिडियालाई दबाबमा पारेका छन् । यस्तो परिवेशमा पनि अग्नी पोष्टले आफ्नो यात्रामा कुनै विराम नदिई निरन्तरता कायम राख्नु आफैंमा महत्वपूर्ण उपलब्धि हो ।

पत्रकारिता केवल समाचार सम्प्रेषण गर्ने माध्यम मात्र होइन, समाजको ऐना र जिम्मेवार पहरेदार पनि हो । यसै जिम्मेवारीलाई आत्मसात् गर्दै अग्नी पोष्टले सत्य, तथ्य, निष्पक्षता, पारदर्शिता र जनमुखी पत्रकारितालाई आफ्नो मूल आधार बनाएको छ । यही कारणले प्रेस काउन्सिल नेपालद्वारा गरिने वर्गीकरणमा निरन्तर ‘ख’ वर्गमा पर्न सफल हुनु यसका लागि गौरवको विषय हो ।

तर, चुनौतीहरू अझै यथावत् छन् । स्थानीय उद्योगधन्दा बन्द हुनु, विज्ञापनको अभाव, र सरकारी नीतिहरूमा देखिएको असन्तुलनले सञ्चार माध्यमहरूलाई थप संकटतर्फ धकेलिरहेका छन् । विशेषतः सरकारी विज्ञापन र सूचनालाई सीमित माध्यममा मात्र केन्द्रित गर्ने प्रवृत्तिले स्थानीय पत्रपत्रिकाको अस्तित्वमै प्रश्न उठाएको छ । अहिले सरकारले सञ्चार माध्यमलाई झन कसेको जस्तो देखिएको छ । केहि सन्देश मुलुक सुचनाहरु पनि बन्द गरि दिएको छ । संघीय संरचना अनुसार तीनै तहका सरकारले सञ्चार माध्यमप्रति उत्तरदायी हुँदै आवश्यक सहयोग र राहत प्रदान गर्नु आजको आवश्यकता हो ।

यसैबीच, प्रविधिको विकासलाई आत्मसात् गर्दै अग्नी पोष्टले आफ्नो अनलाइन संस्करण ‘अग्नी समाचार’ पनि सञ्चालनमा ल्याएको छ । यसले विश्वका घटनाक्रमलाई एक क्लिकमै पाठकमाझ पु-याउने प्रयास गरिरहेको छ । डिजिटल युगसँगै अघि बढ्दै प्रिन्ट र अनलाइन दुवै माध्यमलाई सन्तुलित रूपमा अगाडि बढाउनु आजको आवश्यकता हो, जसमा अग्नी पोष्ट प्रतिबद्ध देखिएको छ ।

आगामी दिनहरूमा विगतका उपलब्धिहरूलाई आत्मसात् गर्दै, कमजोरीहरूबाट पाठ सिक्दै अझ परिस्कृत, विश्वसनीय र जनप्रिय सञ्चार माध्यम बन्ने प्रतिबद्धता अग्नी पोष्टले लिएको छ । यस यात्रामा पाठक, विज्ञापनदाता, सहकर्मी तथा शुभचिन्तकहरूको साथ र विश्वास नै यसको सबैभन्दा ठूलो शक्ति हो ।

नववर्ष २०८३ तथा सुदूरपश्चिमेलीहरूको महान् पर्व विसुको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै, अग्नी पोष्ट आफ्नो यात्रामा अझ दृढताका साथ अगाडि बढ्ने प्रण गर्दछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.