अत्तरिया : सरकारले भारतबाट १०० रुपैयाँभन्दा बढीका सामान ल्याउँदा कर तिर्नुपर्ने व्यवस्थामा कडाइ गरेपछि सीमावर्ती भारतीय बजार सुनसान देखिएका छन् ।
कैलाली भन्सार कार्यालयले भारतबाट रु १०० भन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार कर अनिवार्य तिर्नुपर्ने व्यवस्था लागू गरेपछि सीमा नाकामा सुरक्षा जाँच पनि कडा पारिएको छ ।
सरकारको नयाँ व्यवस्थाअनुसार भारतबाट ल्याइने जुनसुकै रु १०० भन्दा बढी मूल्यको सामानमा भन्सार महसुल लाग्नेछ । यो नियम लागू भएसँगै कैलालीको सीमावर्ती भारतीय बजार बनगाउँमा किनमेल गर्न जाने नेपालीहरूको संख्या ह्वात्तै घटेको छ । दैनिक हजारौँको संख्यामा किनमेल गर्न जाने बनगाउँमा केही दिनयता सुनसान जस्तै छ ।
सशस्त्र प्रहरी बलले माइकिङमार्फत भन्सार कर तिर्न अनिवार्य रहेको जानकारी दिँदै आएको छ । धनगढीकी मनीषा बुढाका अनुसार पहिले ६–७ हजार रुपैयाँसम्मको सामान सहज रूपमा ल्याउने गरिएको भए पनि नयाँ नियमबारे भर्खर जानकारी पाएको बताइन् । उनले भनिन्, ‘पहिलाजस्तो भीड नाकामा छैन । बनगाउँमा पनि मान्छे घटेका छन् । रु १०० भन्दा बढीको सामानमा कर अनिवार्य भएपछि किनमेल गर्नेहरू कम भएका हुन् ।’
बनगाउँका व्यापारी विशाल देवलले नेपाल सरकारले रु १०० माथिको सामानमा भन्सार तिर्नुपर्ने प्रावधान राखेर गलत निर्णय गरेको बताए । उनले भने, ‘नेपाल र भारतको रोटी–बेटी सम्बन्ध रहेको र तत्काल यो निर्णय खारेज गरेर कम्तीमा पाँच हजारसम्म सीमा तोक्नुपर्छ ।’ प्रदेश राजधानी रहेको धनगढी आसपासका बासिन्दा चिनी, तेल, आलु, लुगाकपडा लगायत दैनिक उपभोग्य सामान किन्न सीमावर्ती बनगाउँ जाने गरेका थिए । नेपाली बजारमा भन्दा भारतीय बजारमा यी सामग्रीहरू निकै सस्तो हुने गरेका थिए ।
सशस्त्र प्रहरीले भारतबाट तेल, सुर्तीजन्य पदार्थ, पेय पदार्थ, मदिरा, कालो प्लास्टिक, प्लास्टिकका बट्टा, लागुऔषध तथा हातहतियारजस्ता सामग्री ल्याउन पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ । सशस्त्र प्रहरी बलका अनुसार नेपाली बजारको प्रवद्र्धन तथा राजस्व वृद्धि गर्ने उद्देश्यले यस्तो कडाइ गरिएको जनाएको छ ।